• साउन ४, सिन्धुली/डिभिजन वन कार्यालय सिन्धुलीले गत आर्थिक वर्ष २०८०/८१ मा १ करोड ६१ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले उपलब्ध गराएको गत आवको मुख्य कार्यसम्पादन सूचकहरुको वार्षिक प्रगति विवरणमा उक्त तथ्यांक उल्लेख गरिएको पाइएको हो ।

    डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख प्रल्हाद प्रसाद धितालका अनुसार राजस्व आम्दानी सबैभन्दा बढी सामुदायिक वनबाट भएको देखिएको छ । सामुदायिक वनबाट मात्रै १ करोड २५ लाख ४५ हजार ३३९ रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । यो कूल राजस्व आम्दानीको ७७.६३ प्रतिशत हो ।

    यस्तै निजी वन/निजी आवादीबाट ३० लाख ८५ हजार ६२१ रुपैयाँ आम्दानी भएको विवरणमा उल्लेख छ । गैरकाष्ठ वन पैदावारबाट ३ लाख ९६ हजार ४१५ रुपैयाँ तथा वन पैदावारमा आधारित उद्योग दर्ताबापतको राजस्व १ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुसार गत आवमा जिल्लाबाट कूल १ लाख छ हजार ६७६ हजार क्युफिट काठ उत्पादन भएको छ । सामुदायिक वनबाट ६६ हजार २५ क्युफिट तथा निजी वन/निजी आवादीबाट ४० हजार ६५१ क्युफिट काठ उत्पादन भएको प्रमुख धितालले जानकारी दिनुभयो । यसैगरी सामुदायिक वनबाट १०८.५ चट्टा तथा निजी वन/निजी आवादीबाट ३६.८५ चट्टा गरी कूल १४५.४ चट्ट दाउरा उत्पादन भएको विवरणमा उल्लेख छ ।

    कार्यालयले गत आवमा विभिन्न प्रजातिका ९ हजार ६०० बिरुवा खरिद गरेको जनाएको छ । वर्षभरिमा ६४ हजार वटा बिरुवा उत्पादन गरेको जनाएको छ । फलफूलका बिरुवा ८ हजार १६५ र बाँसका बिरुवा ५ हजार ६०० उत्पादन भएको जनाएको छ । कार्यालयले उक्त आवमा १९ हजार ७८० वटा बिरुवा वितरण गरेको विवरणमा उल्लेख छ ।

    जिल्लाका कूल १५ हेक्टर वन क्षेत्रमध्ये सामुदायिक वनको ७.५० हेक्टरमा ३ हजार वटा बाँसका बिरुवा रोपण गरिएको जनाएको छ । नदी उकास पर्ती जग्गाको १ हेक्टर क्षेत्रमा राइजोम बाँस ४०० वटा रोपण गर्नुका साथै निजी जग्गामा रोपणका लागि २२ सय वटा बाँस वितरण गरिएको प्रमुख धितालले जानकारी दिनुभयो ।

    जिल्लामा हालसम्म हस्तान्तरित सामुदायिक वनको संख्या ३१३ रहेको पाइएको छ । यस्तो वन ६२ हजार १६२.०६ हेक्टर क्षेत्रफलमा फैलिएको कार्यालयले जनाएको छ । कूल २१८ वटा कवुलियती वनले १ हजार ३७२.५२ हेक्टर क्षेत्रफल ओगटेको विवरणमा उल्लेख छ । यस्तै निजी वन ९ वटा रहेकामा यस्तो वनले ६.८२ हेक्टर क्षेत्रफल ओगटेको देखिन्छ ।