• असार ३१, सिन्धुली/चोरीको मोटरसाइकलसहित मरिण गाउँपालिकाबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलान्चोकको महाभारत गाउँपालिका–७ बस्ने २० वर्षीय राकेश स्याङतान रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लले जानकारी दिनुभयो । उहाको अनुसार घ्याङलेख गाँउपालिका–४ बस्ने च्याङबालाल वाइबाको नाममा रहेको बा.प्र. ०२–०३० प ०५९६ नम्बरको २२० सि.सि. को रातोकालो पल्सर मोटरसाइकल यही असार १० गतेदेखि हराएको थियो । सोमबार मरिण गाँउपालिका–४ साहानमा उक्त मोटरसाइकल चलाएर ल्याएको अवस्थामा स्याङतानलाई पक्राउ गरिएको हो ।

    इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा फेला पारी उक्त मोटरसाइकलसहित निजलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।