• असार २९, सिन्धुली/जिल्लामा हालसम्म ७२ प्रतिशत भुगोलमा धान रोपाइँ सकिएको छ । कृषि विकास कार्यालय सिन्धुलीले असार अन्तिममा ८ हजार ५६ हेक्टर क्षेत्रफल अर्थात ७२ प्रतिशत धान रोपाइँ सकिएको जनाएको छ ।

    यो बर्ष अघिल्लो बर्षहरुमा भन्दा बढि नै क्षेत्रफलमा धान रोपाइँ भएको कृषि विकास शाखाका सुचना अधिकारी उमादेवि श्रेष्ठले बताउनुभयो । जिल्लाको भुगोल अनुसार धान खेतीको लागि उर्बर मानिने कमलाखोँज, मरिण, तीनपाटन, कमलामाई, हरिहरपुरगढीको फाँटमा रोपाइँ सकिसकेको छ ।

    सूचना अधिकारी श्रेष्ठको अनुसार जिल्लाको तिनपाटन गाउँपालिकामा ९० प्रतिशत धान रोपाइँ सकिएको छ । दुधौली नगरपालिकामा ७० प्रतिशत, फिक्कल गाउँपालिकामा ७५ प्रतिशत,कमलामाई नगरपालिकामा ७५ प्रतिशत, मरिण गाउँपालिकामा ७० प्रतिशत रोपाइँ सकिएको छ ।

    त्यस्तै हरिहरपुरगढी गाउँपालिकामा ६२ प्रतिशत ,गोलन्जोर गाउँपालिकामा ६५ प्रतिशत, सुनकोशी गाउँपालिकामा ६० प्रतिशत र घ्याङलेख गाउँपालिकामा ४० प्रतिशत रोपाइँ सकिएको जनाइएको छ । घ्याङ्लेख गाउँपालिकामा ९० प्रतिशत भुभागमा आकाशे पानीको भरमा रोपाइँ हुने भएकोले धमाधम भइरहेको छ ।

    जिल्लामा कुल खेती योग्य जमिन ६९ हजार २५३ हेक्टरमध्ये वर्षे धान खेतीयोग्य जमिनको क्षेत्रफल ११ हजार १८८ हेक्टर छ । गत वर्ष जिल्लामा साउन महिनाको अन्तिमसम्ममा करिब १२ हजार हेक्टर जमिनमा धान खेती भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

    सिंचाइको सहज सुविधा भएको ठाँउमा धान रोपाइँ यो वर्ष बढी भएको छ । त्यस्तै पहाडि भेगमा पनि मनसुन चाडैँ भएको कारण धमाधम धान रोपाइँ भइरहेको छ । जिल्लामा साउनको तेस्रो सातासम्म रोपाइँ हुने गरेको उहाँले बताउनुभयो । जिल्लामा विशेषगरी किसानहरुले भुगोल अनुसार सावित्री,रामधान,खुमल,मन्सुली,रन्जित,हाइब्रेट जातका धानको बिउ रोप्ने गर्दछन् ।