• स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न र स्थानीयस्तरमै रोजगारीको सिर्जना गर्न भनेर स्थानीय सरकारले नै विभिन्न कार्यक्रमहरु सन्चालन गरिरहेका छन् । त्यतिमात्र हैन जिल्लामा स्थापना भएका वा जिल्ला बाहिरबाट यहाँ आएर सिन्धुलीमा कार्यक्षेत्र बनाएर काम गर्ने अन्य गैरसरकारी सँस्थाहरुले समेत लघु उद्यम तथा उद्यमीलाई प्रोत्साहन र सहयोग गर्न भन्दै विभिन्न कार्यक्रमहरु वर्षेनी सन्चालन गरिरहेका छन् ।

    कहिले महिला उद्यमीको नाममा, कहिले पुरुष उद्यमीको नाउँमा त कहिले एकल महिला, कहिले विपन्न वर्गको नाउँमा र कहिले द्धन्द्ध पिडित परिवारको नाउँ भजाएर क्षमता विकास तथा जीवनउपयोगी सीपको नाम गरेर तालिम र गोष्ठि गर्दै लाखौँ रकम खर्चिरहेको छ ।

    स्थानीय तहले त झन वर्षेनी यसका नाउँमा लाखौँ रकम विनियोजन गरेर विभिन्न प्याकेजमा कार्यक्रमहरु सन्चालन गरिरहेको छ। कहिले महिला उद्यमीको नाममा, कहिले पुरुष उद्यमीको नाउँमा त कहिले एकल महिला, कहिले विपन्न वर्गको नाउँमा र कहिले द्धन्द्ध पिडित परिवारको नाउँ भजाएर क्षमता विकास तथा जीवनउपयोगी सीपको नाम गरेर तालिम र गोष्ठि गर्दै लाखौँ रकम खर्चिरहेको छ । स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने कुरा सकारात्मक छ । युवावर्गलाई स्वरोजगार बनाउने कुरा पनि जायज छ । क्षमता विकासका लागि तालिम प्रदान गर्नु पनि सकारात्मक देखिन्छ ।

    तर विडम्बना त्यस्ता तालिम र गोष्ठि सकिएपछि त्यसको उपयोगिता कसैले खोज्यो भने कहिँ पनि भेटिँदैन । न कसैले त्यो सीप अनुसारको काम गरेको पाइन्छ । तसर्थ यस्ता कार्यक्रम भनेको सिधा भाषामा भन्दा बालुवामा पानी खन्याको जस्तै हो भन्दा फरक नपर्ला । लगानीकर्ता र आयोजकले आर्थिक लगानी गरेर स्थानीय स्तरमै सामाग्रीहरु उत्पादन गर्न प्रोत्साहित गरेपछि उनिहरुको दायित्व सकियो भन्ने हुँदैन । यसरी लगानी गर्ने बातावरण बनाउन त सजिलै होला तर त्यसपछि उत्पादित सामाग्रीले बजार नपाउँदाको अवस्था झनै भयावह हुन्छ ।

    जव लगानीबाट उत्पादन हुन सुरु हुन्छ । तव मात्र समस्या सुरु हुन थाल्छ । उत्पादित सामाग्रीको बजारको अवस्था र विक्री स्थल व्यवस्थापन बिना उत्पादन मात्र सुरु गर्दा ती सामाग्रीहरु कहाँ लगेर विक्री गर्ने, उपभोक्ता को हुन् भन्ने विषयले अर्काे समस्या निम्त्याउँछ । तसर्थ उत्पादन गरेपछि कहाँ, कसलाई, कसरी बिक्री गर्ने भन्ने कुराको पूर्व पहिचान गरेर मात्र उत्पादनमा लगानी गर्नु बुद्धिमानी देखिन्छ । त्यसो नगर्दाको परिणाम भनेको सामाग्री उत्पादन भएर स्टोर अवस्थामा मात्र बस्छ तर विक्रीको अवस्था भने राम्रो हुँदैन ।

    अचार उत्पादन गरिन्छ तर बट्टामै कुहिन्छ । बाँसका मुडा तयार गरिन्छ तर थन्काएर राख्नुपर्छ । सिन्का, अगरबत्ती, दालमोट, मैनबत्ती, साबुन, चाउमिन, टिका, चकलेट । यी र यस्ता स्थानीय उत्पादनले बजार नपाएकै कारण विस्थापित हुनुपरेका घटनाहरु धेरै पूराना पनि हैनन् ।

    बजार तथा उपभोक्ता पहिचान, मूल्य र सामाग्रीको माग अनुसारको लगानी गर्न सकियो भने व्यवसाय सन्तुलनको अवस्थामा पुर्याउन सकिन्छ । तसर्थ बजार व्यवस्थापनमा पहिला ध्यान दिएर अनि मात्र सामाग्रीको उत्पादनमा अगाडि बढ्नसके व्यवसायीक सफलता पनि टाढा छैन ।