कमलामाई–६ लाई बालमैत्री वडा घोषणा गर्ने तयारी तीव्र

असार ५, सिन्धुली/कमलामाई नगरपालिकाको ६ नम्बर वडालाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । बुधबार आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा यही असार अन्तिममा बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने तयारी भइरहेको वडा कार्यालयले जानकारी दिएको छ ।
यसका लागि पूरा गर्नुपर्ने ५१ वटा सूचकमध्ये ८० प्रतिशत काम सकिसकेको वडाअध्यक्ष उज्ज्वलकुमार थापाले बताउनुभयो । असार मसान्तमा आफ्नो वडालाई बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।
वडाभित्रका २ हजार १०२ परिवारमा बालबालिकाको समग्र अवस्थाको बारेमा सर्वेक्षण गरी बालबालिकाको वस्तुस्थिति विवरण तयार गरेको वडाध्यक्ष थापाले जानकारी दिनुभयो ।
स्थानीय तहले बालबालिकाको आवधिक तथा वार्षिक लगानी योजना तर्जुमा कार्यान्वयनलाई सूचनामा आधारित, व्यवस्थित, नतिजामूलक, बाल सहभागितामूलक र प्रभावकारी बनाउन बालबालिकाको वस्तुस्थिति विवरणले वडा तथा अन्य विकास प्रदायक संस्थालाई महत्त्वपूर्ण आधार प्रदान गर्ने उहाँको भनाइ छ ।
वडामा असार मसान्त अगावै बालबालिकाका शिक्षा, स्वास्थ्य, बालहिंसा तथा बालश्रमको विषयवस्तु हाम्रो समाजमा विद्यमान भए सूचना तथा समाचार सम्प्रेषण गरी सहयोग गर्न वडाअध्यक्ष थापाले आग्रह गर्नुभयो ।
सो वडालाई बालमैत्री घोषणा गर्नका लागि प्लान इन्टरनेशनल नेपाल, मानव तथा राष्ट्रिय विकास समाज ह्याण्डस नेपाल सिन्धुलीको साझेदारी, कमलामाई नगरपालिकाको समन्वयमा लामो समयदेखि काम गर्दै आएको वडाले जानकारी दिएको छ ।
जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्ता कार्कीले वडा नं. ६ ले बालमैत्री वडा घोषणाका लागि गरिरहेको प्रयासलाई नजिकबाट नियालिरहेको बताउनुभयो । बालमैत्री वडा घोषणासँगै घोषणापश्चात् अझ चुनौती थपिने भएकोले त्यस्ता दीर्घकालीन कुरामासमेत ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
वडा सचिव जगदिश कार्कीले असार मसान्तमा बालमैत्री वडा घोषणा गरिने भएकाले यस अभियानमा सबैले साथ दिन आग्रह गर्नुभयो । बालश्रम भएको कतै देखेमा खबरदारी गरी सहयोग गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
साथै, अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि र सञ्चारकर्मीले असार मसान्तमा बालमैत्री वडा घोषणा गर्न आ–आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभयो ।
कमलामाई–६ बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने जिल्लाकै पाँचौ वडा बन्नेछ । यसअघि तीनपाटनका ३ वटा र फिक्कलको १ वडालाई बालमैत्री घोषणा गरिसकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *