पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
वैशाख २१, सिन्धुली/जिल्लाको निकै दुर्गम मानिने कमलामाई नगरपालिका–२ पिपलभन्ज्याङ देखि वेसारे, दुज्युङ हुँदै मैवले सम्मको ग्रामिण सडक स्तरोन्नती भएको छ ।
दैनिक आवत जावतको लागि वर्षैँदेखि सास्ती खेपिरहेका स्थानीय उक्त सडक ड्रेन सहित ढलान भएपछि निकै खुसी भएका छन् । सडकको स्तरोन्नती भएसँगै दैनिक आवत जावत तथा आफ्नो दैनिकीमा सहजता हुने भएपछि स्थानीय खुसी भएका हुन् । हिउँदमा जसोतसो ५ महिना चल्ने उक्त सडक असार लागेपछि ठप्प नै हुने गरेको स्थानीय ७२ बर्षिय हरी बहादुर थापाले बताउनुभयो ।
“६ महिना त जसोतसो चल्थ्यो । वर्षा लागेसँगै सडकमा गाडि चल्नु त परैको कुरा दैनिक पैदल आवातजावतमा समेत कठिन हुन्छ । विद्यार्थीलाई हिँडडुल गर्न तथा विरामीलाई समयमै अस्पताल पुर्याउन नसकेर अकालमै ज्यान गुमाउनु परेको दुःखका क्षणहरु हामीले भोगिरहेका छौँ” थापाले भन्नुभयो ।
उक्त सडकको १ सय ४० मिटर ढलान, २ सय ४० मिटर ड्रेन र ३० मिटर प्लम वाल गरिएको पिपलभन्ज्याङ वेसारे दुज्युङ मैवले सडक स्तरोन्नती उपभोक्ता समितिका अध्यक्ष बिष्णु बहादुर डिम्दोङले जानकारी दिनुभयो । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको भ्याट बाहेक १९ लाख २० हजार रुपैयाँ बजेट तथा ३ लाख ४६ हजार ७ सय ३३ रुपैयाँ बराबरको स्थानीयको जनश्रमदान सहित २३ लाख ४६ हजार ७ सय ३३ रुपैयाँमा उक्त सडकको स्तरउन्नती सम्पन्न भएको समितिका अध्यक्ष डिम्दोङ्ले जानकारी दिनुभयो ।
प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुली र पिपलभन्ज्याङ वेसारे दुजुङ मैवले सडक स्तरोन्नती उपभोक्ता समिति बिच सडक स्तरोन्नतीको लागि २०८० पुस २३ गते ३ महिनामा निर्माण सम्पन्न हुनेगरी सम्झौता भएको थियो । सडकको स्तरोन्नती पश्चात करीब १ सय ५० घरधुरी लाभान्वित हुने बताइएको छ ।