सिन्धुलीमा खाद्यन्न बाली उत्पादन घट्यो
फागुन २१,सिन्धुली/आर्थिक वर्ष २०७९/८० मा सिन्धुली जिल्लामा खाद्यान्न बाली उत्पादन अपुग छ । कृषि विकास कार्यालय सिन्धुलीको अनुसार यो बर्ष खाद्य वसालात हेर्दा जिल्लामा १४ हजार ५ सय ७५ मेट्रिक टन अपुग देखिएको छ ।
जिल्लामा धान खेति हुने कुल १२ हजार ४ सय ८४ हेक्टर क्षेत्रफलमा ४२ हजार ८ सय ९९ मेट्रिक टन उत्पादन भएको छ भने मकै कुल २४ हजार ९ सय २४ हेक्टर. क्षेत्रफलमा ८१ हजार ९ सय ८१ मेट्रिक टन उत्पादन भएको कृषि कार्यालयले जनाएको छ ।
त्यस्तै गहुँ ५ हजार ८३ हेक्टर क्षेत्रफलबाट १३ हजार ७ सय १२ मेट्रिक टन , कोदो खेति हुने १२ हजार ६५ हेक्टर क्षेत्रफलबाट १२ हजार ३ सय ७१ मेट्रिक टन उत्पादन भएको थियो ।
खाद्यान्न बाली लगाइने कुल ५५ हजार ४८ क्षेत्रफलमा यो बर्ष १ लाख ५१ हजार ३ सय ९७ मेट्रिक टन मात्रै उत्पादन भएको छ । सो उत्पादन गत बर्षको भन्दा कम हो । अवका दिनमा क्षेत्र विस्तार, उन्नत बीउ प्रयोगमा वृद्धी, उत्पादन सामाग्रीको सहज र सुलभ उपलब्धता गरि उत्पादन र उत्पादकत्व वढाउन जरुरी रहेको कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अरुण खनालले बताउनु भयो ।
दलहन बाली कुल १ हजार ८ सय ७५ हेक्टर क्षेत्रफललबाट २ हजार ४ सय ४८ मेट्रिक टन उत्पादन भएको छ । तेल बाली ४ हजार ३ सय ९ हेक्टर क्षेत्रफलबाट ४ हजार ९० मेट्रिक टन र आलु बाली २ हजार ५ सय ५० हेक्टर छेत्रफल बाट ४५ हजार ९ सय ८० मेट्रिक टन उत्पादन भएको तथ्याङ्क छ ।
जिल्लामा तेलहन र दलहन बाहिर बाट आयात भएको प्रमुख खनालको भनाई छ । परम्परागत कृषि प्रणाली यथावत हुनु, समयमा पर्याप्त मल र बीउ नपाउनु, सिँचाइको उपलब्धता नहुनुजस्ता कारणले कृषि बाली क्षेत्र घट्न गई उत्पादनमा कमी आएको हुनसक्ने प्रमुख खनालले बताउनु भयो ।
“कतिपय अवस्थामा जीविकोपार्जन गर्न समेत ग्राहो हुने भएपछि श्रमशक्ति कृषि क्षेत्रबाट पलायन भएर अन्य क्षेत्रमा लागेको देखिन्छ । पछिल्लो समय सहरमा बसाइँसराइका कारण पनि पहाडी क्षेत्रमा खेती दिनप्रतिदिन घट्दै गएको छ । उहाँले भन्नुभयो ।