कला र सँस्कृतिको संरक्षणमा चुकेको स्थानीय सरकार

मतदाताहरुको मन जित्न सक्दैनौ भने उनिहरुको मन भाँच्ने अधिकार पनि तिमीलाई छैन । पार्टीको झण्डा हेरेर सडक बनाउँछौ, झण्डा हेरेर इनार बनाउँछौ र झण्डा फरक भएकै कारण बेवास्ता गर्छाै भने त्यो तिम्रो कुकर्म हो ।

कला र सँस्कृति हरेक देशको अमूल्य गहना हुन् । यी अमूल्य गहना जोगाइराख्न हरेक नागरीकको महत्वपूर्ण भूमिका हुन्छ । आफ्नो जिम्मेवरीलाई कसले कसरी लिन्छ भन्ने मात्र हो । देशको सँस्कृति र संस्कारलाई बचाउन तथा प्रवर्द्धन गर्न कलाकारहरुको प्रमुख भूमिका हुन्छ भन्ने कुरामा दुईमत छैन । कला, सँस्कार र सँस्कृतिको जगेर्ना गर्ने अभिभारा सवै नेपालीको हो । तर कसले कस्तो भूमिका निर्वाह गर्नसक्छ भन्ने विषयले पनि खास अर्थ राख्नेगर्छ । कला र सँस्कृतिको जगेर्ना संगै सम्मान पनि जोडिएर आउनेगर्छ ।

पूराना तथा अग्रज कलाकारहरुको व्यवहार र उनिहरुको अभ्यासको कुरा गर्दा र कुरा सुन्दा एकप्रकारको छुट्टै आनन्दानुभूति हुन्छ । उनिहरुको मार्ग पछ्याउनेहरु अहिले निकै कम मात्र पाइन्छन् । पूराना कुरा, पूराना भाका, पूराना लय, पूराना सँस्कार एवं सँस्कृति तथा पूराना कलाकारिताको सन्दर्भमा पूरानै अग्रजहरुबाट सुन्ने र सिक्ने हो । तर यस्तो अवसर सवैलाई सधैँ जुर्दैन । उनिहरुले गरेका योगदान, गरेका कर्म र कलाकारितामै विताएका समयको मूल्य तोक्न कदापि सकिदैन । उनिहरुका कुरा सन्ने अवसर पाउनु नै अहिलेको पुस्ताको लागि मुख्य कुरा हो । कतिपय अग्रजहरुले संसार छाडेर गैसकेका छन् भने केहि अग्रजहरु अझै पनि देशको गीत, संगित, सँस्कृति एवं कला क्षेत्रलाई अझै केहि दिन सकिन्छ भनेर लागिरहेका छन् ।

उनिहरुले नयाँ पुस्तालाई गर्ने मायालु व्यवहार र सद्भाव हेर्दा यसो भन्न सकिन्छ की कलाकारिताको वर्तमान पुस्ता एकदमै रुखो र खस्रो भएर समय विताइरहेको छ । उनिहरुले अग्रजहरुबाट सिक्न अझै धेरै कुराहरु छन् जसले कला र सँस्कृतिको क्षेत्रमा सबैको मन जित्न सकोस् । पूरानालाई सम्मान, समकक्षिसंग सहकार्य र नयाँलाई अवसर दिएर हातेमालो गर्नसके देशको कला क्षेत्रले विकासको गतिमा अझै धेरै फड्को मार्न सक्ने निश्चित छ ।

तर सम्वन्धित निकायहरुबाट पनि यसका निम्ति विभिन्न योजनाहरु बनाएर बजेट लगानी गर्नुपर्ने हुन्छ । हरेक आर्थिक वर्षको सरकारी बजेटमा कला र सँस्कृतिको क्षेत्रमा राम्रै बजेट बिनियोजन गरिएको पाइन्छ । तर त्यो कुन क्षेत्रमा, कहाँ कहाँ, कसको नेतृत्वमा कस्ता कार्यक्रममा खर्चिए भन्ने स्पष्ट लेखाजोखा र जानकारी भने खासै पाइँदैन । खासगरी स्थानीय सरकार यस कार्यमा चुकीरहेको देखिन्छ । निश्चित योजना छैन । ल्याएका योजनामा बजेट दिँदैन । न आफू गर्ने न गर्छु भनेर आउनेलाई परिक्षण गर्ने अवसर दिने । यस अर्थमा स्थानीय सरकार कला र सँस्कृतिको संरक्षणमा चुकिरहेको छ भन्न कुनै अप्ठेरो छैन ।

स्थानीय तह, प्रदेश र संघिय तीनै तहको सरकारले कला र सँस्कृतिको संरक्षण तथा संवद्र्धन गर्नका लागि योजना निर्माण गरेरै कार्यक्रम सन्चालन गर्नुपर्ने हुन्छ । सिन्धुलीको अवस्थालाई हेर्ने हो भने केहि राम्रा कार्यक्रमहरु सन्चालन भएका पनि छन् । सवै स्थानीय तहले समान रुपमा कला र सँस्कृतिको क्षेत्रमा बजेट बिनियोजन गरेर कार्यक्रम सन्चालन गरेका छैनन् । कतिपयले कला र सँस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न स्थापना भएका र मरिमेटी गरेर काम गरिरहेका सँस्थालाई समेत बजेट दिएका छैनन् । आफू पनि नगर्ने र गर्छु भनेर कम्मर कसेर लागिपरेकालाई पनि बेवास्ता गर्ने स्थानीय तह पनि नभएका हैनन् । उनिहरुले समयमै विचार गरेर यस्ता सँस्थालाई सहयोग गर्नु नै उपयुक्त हुन्छ । कला र सँस्कृतिको क्षेत्रमा सवै स्थानीय तहले योजना बनाएर कार्यक्रम सन्चालन गरुन् । यसैमा सवैको भलाई देखिन्छ ।

जरुरी नै नभएका शिर्षक खोजी खोजी बजेट हाल्न स्थानीय सरकार मरिहत्ते गरेर लागिपर्छ । बेकामे योजनाहरु संकलन गरेर हरेक वर्ष बजेटको दुरुपयोग गरिरहेको हुन्छ । विपन्न तथा लक्षित वर्गका समस्याहरु पहिचान गरि समाधान गर्नुको सट्टा कार्यकर्ता र आफ्नो पार्टीका झोलेहरुको दैनिकी सहज बनाउने कुरालाई स्थानीय तहको नेतृत्व गर्नेले पहिलो प्राथमिकतामा पारिरहेका छन् । हुँदै नभएको पोष्ट सिर्जना गरेर भ्याकेन्सी नै नखुलाई आफ्ना नातागोता र कार्यकर्ताहरुलाई भर्ति गर्ने कर्मले जरो गाडिरहेको छ । यस्ता घिनलाग्दा हर्कतहरु रोक्ने कहिले ?

काम गर्नेलाई आँट भरोसा देऊ अवरोध गर्न नलगाऊ । मतदाताहरुको मन जित्न सक्दैनौ भने उनिहरुको मन भाँच्ने अधिकार पनि तिमीलाई छैन । पार्टीको झण्डा हेरेर सडक बनाउँछौ, झण्डा हेरेर इनार बनाउँछौ र झण्डा फरक भएकै कारण बेवास्ता गर्छाै भने त्यो तिम्रो कुकर्म हो । तिमीले नेतृत्व गरेको स्थानीय तहमा भएका कला र सँस्कृतिको जगेर्ना गर्छु भनेर आउनेहरुलाई सकेको सहयोग गर्दा तिमीलाई कुनै नोक्सनी नहोला । आज तिमी नेतृत्वमा रहँदा लाखौँका बिटो बोकेर भाइभारदार र कार्यकर्ता खुसी पार्दा भोलिले तिमीलाई अवस्य गिज्याउँने छ, हेक्का राख । आज तिम्रो नेतृत्वमा लाखौँ हैन करोडौँ रकम दुरुपयोग भैरहेको कुरा घाम झैँ छर्लङ्ग छ । सरकार ! भोलि तिमी चितामा जाँदा पनि चाहिने त उहि सिक्का नै हो, याद राखेस् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *