विद्यार्थीको भाग्यरेखा कलमको टुप्पोमा कुँदिएको हुन्छ, राजनीतिक झण्डामा हैन

शैक्षिक सँस्थाहरुलाई मन्दिर मानिन्छ । आस्थाको हिसावले पनि मन्दिरमा गलत कार्य गर्न हुँदैन कसैले । अभ्यास र व्यवहारिक प्रमाण पत्र यहाँबाट नपाइएला तर सावाँ अक्षर सिक्ने देखि विद्याबारिधिसम्मका प्रमाण पत्रहरु यिनै शैक्षिक सँस्थाबाट मात्र प्राप्त गर्न सकिन्छ । जिन्दगीको पहिलो खुट्किलो उक्लिने यस्तो पवित्र मन्दिरमा नकारात्मक र स्वार्थसिद्ध कार्यहरु गर्नु भनेको मानिसले आफूलाई मानिसबाट गिराएर निकै तल्लोस्तरमा झार्नु हो ।

तर यी र यस्ता मानविय तथा शैक्षिक मन्दिरका कुराहरु अहिले विद्यार्थीहरुले मात्र नभएर शिक्षकले समेत भुल्दै गएका छन् । जसको परिणाम शैक्षिक सँस्था राजनीति गर्ने अखडा बनिरहेको छ । विभिन्न बहानामा विद्यालय तथा क्याम्पसमा गरिने आन्दोलन, हड्ताल र पठनपाठन बन्द जस्ता गलत हर्कतहरुले निरन्तरता पाइरहनुमा राजनीनैतिक स्वार्थ हावी भैरहेको भन्न कुनै अप्ठेरो छैन । विद्यार्थीहरु पढ्न भन्दा समय विताउन र राजनीतिक दलको कार्यकर्ता भएको भन्ने पुष्टि गर्नका लागि मात्र विद्यालय तथा क्याम्पस जानेक्रम बढिरहेको देखिन्छ । सबैमा यो कुरा लागू हुँदैन तर यो कुरा उनिहरुले गर्ने गतिविधीहरुले नै पुष्टि गरिरहेका छन् ।
सामान्य भन्दा सामान्य बहाना बनाएर पठनपाठन नै बन्द गर्ने, शिक्षक भएन, शिक्षकले पढाएको बुुझिएन, कक्षा कोठा सुविधायुक्त भएन भन्दै पठनपाठनमा अवरोध सिर्जना गर्ने, क्याम्पसमा ताला लाउने जस्ता गलत कार्यहरुले प्रसय पाइरहेका छन् । यस्ता हर्कतहरु रोक्न ढिला हुनैलागेको छ । विद्यार्थी, शिक्षक, राजनीतिक दल र अभिभावकहरुले यसप्रति चासो दिएर समयमै गलत कार्य रोक्न नसक्ने हो भने यसको परिणाम निकै भयावह हुने निश्चित छ । यसको संकेत विद्यार्थीहरुले विभिन्न बहानामा गर्दै आइरहेका विद्यालय तथा क्याम्पस बन्द लगायतका क्रियाकलापहरुबाटै देखिएको छ ।

समय अझै बाँकी छ । सुध्रिनुपर्छ शिक्षक, विद्यार्थी, क्याम्पस प्रशासन, अभिभावक, व्यवस्थापन समिति र राजनीतिक दल । शैक्षिक सँस्थामा शिक्षा हाँसिल गर्न जानेहो नकी राजनीतिक दाउपेच खेल्न । यसप्रति चनाखो त सवै हुनुपर्छ नै । विशेषगरी शैक्षिक सँस्थाको नेतृत्व गर्ने प्रमुख, शिक्षक, प्राध्यापक, राजनीतिक दल र तिनका कार्यकर्ताले बेलैमा सच्चिनुपर्छ । नत्र शैक्षिक क्षेत्र रणभूमिमा परिणत हुन समय लाग्दैन ।

सहकार्य र सहजीकरणको माध्यमबाट सुखद शैक्षिक यात्रा सम्भव छ । विद्यार्थी भए शैक्षिक सँस्थाको भविष्य रहन्छ । विद्यार्थी हुन शैक्षिक सँस्था बाँच्नुपर्छ । सक्नेले निर्माण गरौँ, संरक्षण गरौँ । नसक्नेले भत्काउने र बिगार्ने नगरौँ । विद्यार्थीको भाग्यरेखा कलमको टुप्पोमा कुँदिएको हुन्छ, राजनीतिक झण्डामा हैन । बेलैमा सोचौँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *