सिन्धुलीमा पछिल्लो समय मानिसहरु आयुर्वेद स्वास्थ्य सेवा प्रति आकर्षित

पुस ३, सिन्धुली/सिन्धुलीमा पछिल्लो समय मानिसहरु आयुर्वेद स्वास्थ्य सेवा प्रति आकर्षित भएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले आज आयुर्वेद सेवाको प्रवद्र्धन गर्न स्थानीय स्तरका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रममा पछिल्लो समय मानिसहरु आयुर्वेद स्वास्थ्य सेवा प्रति आकर्षित भएको जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर अर्जुन उपाध्ययले आर्थिक बर्ष २०७७/७८ मा ७ हजार जनाले सेवा लिएका थिए भने २०७८/७९ मा १२ हजार जनाले सेवा लिए र सो संख्या बढेर आर्थिक बर्ष २०७९/८० मा १६ हजार जनाले आयुर्वेद स्वास्थ्य सेवा लिएको बताउनु भयो ।
चालु आर्थिक बर्षमा सो संख्यालाई बढाएर २० हजार जनालाई सेवा प्रदान गर्ने लक्ष्य रहेको समेत डाक्टर उपाध्ययले बताउनु भयो ।

सिन्धुलीको जनसंख्या हेर्दा आयुर्वेदिक सेवामा एलोपेथिक भन्दा तुलनात्कम रुपमा एकदमै कम मानिसले सेवा लिएको भएपनि पहिले भन्दा प्रत्येक बर्ष ५ हजारका दरले सेवाग्राही बढिरहेको डाक्टर उपाध्ययले दाबी गर्नुभयो ।
मानिस जब बिरामी पर्छन् तब मात्रै अस्पताल जाने र औषधी सेवन गर्नसाथ तुरुन्तै निको हुनुपर्ने चाहानाका कारणले आयुर्वेदिक भन्दा एलोपेथिक सेवा रुचाउने गरेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो “ आयुर्वेदमा उपचार सेवा नै फरक हुन्छ । मानिसको जिवनशैली देखि रोग लाग्न नदिने उपायहरुलाई बढि केन्द्रित गरिन्छ । त्यसैले सिकिस्त भएका बिरामी भन्दा पनि जिवनशैली परिवर्तन चाहने मानिस मात्रै आउने गरेकोले सेवाग्राहीको संख्यामा कमी भएको हो ।”
जिल्ला आयुर्वेद सेवा केन्द्र सिन्धुलीमा क्षारसुत्रद्धारा सेवा प्रदान गरिन्छ । बागमती प्रदेशका जिल्ला भरीमा २ ठाउँमा मात्रै क्षारसुत्रद्धारा सेवा प्रदान गरिने गरिन्छ । विशेषरुपमा मलाशय रोगहरु(पायल्स, फिस्टुला) को आवश्यकता अनुसार क्षारसुत्रद्धारा उपचार गरिने डाक्टर उपाध्ययले बताउनु भयो ।


त्यस्तै प्रवर्धनात्मक : ज्येष्ठ नागरिकको लागि स्वास्थ्य प्रबद्र्धन सेवा; स्तनपायी आमाहरुको लागि मातृशिशु सुरक्षार्थ दुग्धबद्र्धक जडिबुटि जन्य औषधी वितरण; योग, वायु प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्युनिकरण सेवा दिइन्छ ।
प्रतिकारात्मक : जिवनशैली परामर्श,योग,स्वास्थ्य जीवन कार्यक्रम साथै निदानात्मक : प्रयोगशाला,भिडियो एक्सरे (अल्ट्रासाउण्ड) र उपचारात्मक : बहिरंग सेवा, पन्चकर्म, पुर्वकर्म, क्षारसुत्र सेवा, फिजियोथेरापी र अकुपन्चर जस्ता नियमित सेवा र कार्यक्रमहरु रहेको जनाइएको छ ।
बिशेषगरी दिर्घकालिन रोगहरुका बिरामी सुगर, प्रेसर, ग्यास्ट्रीक साथै पेट सम्बन्धी रोगका बिरामीहरु आयुर्वेद स्वास्थ्य सेवामा सेवा लिन आउने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *