• घरेलु सामाग्री उत्पादक देखि जागिरे सम्म

    • संगिता डिम्दोङ्

    फगुन १६, सिन्धुली/सिन्धुली कारागारमा कैदी जीवन भुक्तान गरिरहेका कैदी बन्दीले सजाय मात्र भोगिरहेका छैनन् । कारागार भित्रको आन्तरिक प्रशासन शाखाले उनिहरुलाई विभिन्न बिभागमा मासिक तलब दिएर काम समेत लगाउने गरेको छ ।
    कारागार भित्र खाना पकाउने, सरसफाई गर्ने, कपडा धुने लगायतका विभिन्न ३५ बिभागमा काम गर्ने कैदी बन्दीलाई आन्तरिक प्रशासन शाखाबाट मासिक ५ हजार तलब दिने गरेको कारागार सिन्धुलीका प्रमुख कुशल न्यौपानेले बताउनु भयो । “प्रमुख जिल्ला अधिकारी र जिल्ला कारागारका जेलरको सिफारिसमा जेल भित्रकै एकजना कैदीलाई आन्तरिक प्रशासन प्रमुखको जिम्मेवारी दिइएको हुन्छ । सोहि प्रशासन प्रमुखले आन्तरिक शाखाको जिम्मेवारी लिएको हुन्छ । आन्तरिक प्रशासन शाखाले नै विभिन्न बिभागमा काम छुट्याएर मासिक तलबमा काम गराउने गरेका छन्” वहाँले भन्नुभयो ।

    २०७२ सालमा जिल्ला कारागार सिन्धुलीमा आएका एक कैदी बन्दीलाई कारागार जेलघर भन्दा पनि जागिर खान आएको जस्तो अनुभव भएको छ । छोरा छोरी सानै उमेरको हुँदा कारागार आउनु परेको पिडालाई भुलाउन वहाँले भित्रै काम गर्न सुरु गर्नुभयो । परिवारको जिम्मेवारी अहिले कारागार भित्रैबाट पूरा गदैँ आउनुभएको छ । वहाँले १ लाख ८० हजार रुपैयाँ परिवारलाई पैसा पठाइसक्नुभएको छ । वहाँ त एउटा उदाहरण मात्र हो । कारागार भित्रै काम गरेर परिवारको जिम्मेवारी निभाउने धेरै कैदी बन्दीहरु छन् सिन्धुली कारागारमा ।

    कारागारमा विभिन्न कसुरमा आएका कैदी वन्दीलाई नकारात्मक विचार नआओस् भनेर विभिन्न काम सिक्न लगाइने कारागार सिन्धुलीका नासु मातृका पहाडीले बताउनु भयो । कारागार जेलघर भन्दा पनि कैदी बन्दीहरुका लागि सुधारगृहको रुपमा स्थापित गर्न कारागार भित्रै मोडा, डाइनिङ्ग टेबल, नाङ्लो, डाली लगायतका स्थानीय श्रोत साधनको प्रयोगमा बनााइने सामाग्री उत्पादन गर्न लगाइने पहाडिीको भनाई छ । यस्तै सामाग्री उत्पादन गरेर कैदी बन्दीले आफ्नो परिवार पालिरहेका छन् ।

    कैदी बन्दीहरुले उत्पादन गरेका सामाग्रीहरुको बजारीकरण राम्रो छ । सिन्धुली जिल्ला संगै सिन्धुपाल्चोक, दोलखा, सर्लाही, बारा, ओखलढुङ्गा लगायतका क्षेत्रबाट सामाग्रीको माग आउने गरेको कारागार सिन्धुलीका प्रमुख न्यौपानेले बताउनु भयो । रामेछापको कारागारबाट सरुवा भएर आएका एक कैदी बन्दीले दिनमा नै ५ हजार बत्ति कात्नुहुन्छ । जेलबाटै अरुले बत्ति कातेको देखेर आफूले पनि सिकेको र सिन्धुली कारागारका १ सय २८ जना कैदी बन्दीलार्ई सिकाइसकेको वहाँको भनाई छ ।

    कारागार सिन्धुलीले कैदी बन्दीलाई अघिल्लो बर्षमा मुडा बुन्ने तालिम प्रदान गरेको थियो । बागमती प्रदेशको समन्वयमा महिला तथा पुरुष कैदी बन्दीलाई सीपमूलक तालिम प्रदान गर्नको लागि पहल भइरहेको कार्यालय प्रमुख न्यौपानले बताउनु भयो ।
    क्षमता भन्दा बढि कैदी बन्दीलाई व्यवस्थापन गर्नुपर्ने यहाँको समस्या कारागारमा अझै उस्तै छ । साथै कारागार सिन्धुलीको आफ्नै सावारी साधन नहुँदा कैदी बन्दीहरुले उत्पदन गरेका सामाग्री ढुवानीमा समेत निकै कठिनाई भइरहेको छ । समस्या समाधानका लागि सम्वन्धि निकायहरुले बेलैमा सोचेर समाधान गरिदिए हुन्थ्यो भन्ने उनिहरुको अपेक्षा अझै उस्तै छ ।