• असोज २६, सिन्धुली/मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा अधिकाँश उम्मेदवार पार्टी संगठन निर्माणमा सहभागि नभएका व्यक्ति आए पछि नेकपा (एमाले) भित्र असन्तुष्टि चुलिएको छ । हाल प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा अधिकाँश अन्य पार्टीबाट प्रवेश गरेका तथा जिल्ला बाहिर रहेका उम्मेदवारहरु छन् ।
    पार्टीको संगठन निर्माणमा कुनै भूमिका नभएकालाई पार्टीले उम्मेदवार बनाएको भन्दै केन्द्रिय सल्लाहकार समिति सदस्य केशब देवकोटा तथा निर्वाचन क्षेत्र नं. १ का इन्चार्ज शान्तिमान कार्कीले पार्टी छाडेको घोषणा नै गर्नु भएको थियो । केहि दिन पछि केन्द्रिय सल्लाहकार सदस्य देबकोटाले निर्वाचन अगाबै स्वतन्त्र रहने कुरा फिर्ता लिएको फेसबुक मार्फत जनाउनु भएको छ।
    माओवादी केन्द्रबाट प्रवेश गरेका मनोजजंग थापा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुनुहुन्छ । थापा माओवादी केन्द्रमा रहँदा पनि काठ्माण्डौंमा नै रहेर काम गर्नु भएको थियो । थापालाई सिन्धुलीवासीले यस अघि सिन्धुलीमा कहिल्यै देखेका थिएनन् । निर्वाचनमा एक्कासी उम्मेदवार बनेर आउँदा सिन्धुलीमा नै क्रियाशिल भएर काम गर्ने कार्यकता तथा नेता असन्तुष्ट बनेका छन् ।
    प्रदेश सभा निर्वाचन क्षेत्र नं. २(२) का उम्मेद्वार रामकुमार पौडेल पनि केहि समय अघि मात्र माओवादी केन्द्र छाडेर एमाले प्रवेश गर्नु भएको थियो । गाउँ टोल कमिटिले समेत नचिनेको उम्मेदवार बनेर आएपछि चुनावी प्रचार प्रसारका कार्यक्रमहरु पनि फितलो भईरहेको छ ।
    त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र नं. १(१) का उमेद्वार सुवाश देवकोटा पनि उम्मेदवार बन्नु भन्दा पहिला एक दिन पनि संगठन विस्तारमा नखटिएका पात्र हुन् । अधिकाँश काठमाण्डौंमा रहेर अन्य काममा व्यस्त हुने देवकोटालाई पार्टीले गुटगत भागवण्डामा उम्मेदवार बानाएर ल्याएपछि असन्तुष्टि चुलिएको छ ।
    भूगोलमा निरन्तर क्रियाशिल नेताहरु घनश्याम राउत, डम्बरबहादुर कार्की लगायतका नेताहरूलाई बेवास्ता गर्दै पावरको भरमा टिकट वितरण भए पछि चुनाव प्रचार प्रसार नै धिमा गतिमा भई रहेको छ । बाम लोकतान्त्रिक गठबन्धनले जिल्ला, निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र स्तरीय निर्वाचन परिचालन समिति गठन गरी तिब्रता दिईसक्दा पनि एमालेको कमिटि फर्मेसन समेत हुन सकेको छैन ।