अन्तर्राष्ट्रिय सरकार : एक परिकल्पना

राष्ट्रवाद धेरैलाई राम्रो लाग्छ। देशको माया र हित जोडिएको राष्ट्रवाद मलाई पनि प्रिय लाग्छ। तर इतिहासमा भएका सयौं युद्ध र करोडौं मानिसको मृत्युको कारण उग्र रास्ट्रवाद नै भएकोले यो धेरै हदसम्म खतरनाक पनि छ। दुबै विश्व युद्धको कारण पनि उग्र रास्ट्रवाद नै भएको सत्यतालाई नकार्न सकिन्न। पृथ्वीलाई चिराचिरा पारेर खिचिएका राजनीतिक रेखाहरु र ती रेखाभित्र कैद राष्ट्रवादले हाम्रा असंख्य समस्या र चुनौतीको समाधान गर्न सकेन र भविष्यमा पनि गर्न सक्ने सम्भावना न्यून छ। धनी र गरिबबीचको असमानता चुलिदै छ। भोक , रोग र अभावको न्यायोचित सम्बोधन हुन सकिरहेको छैन। “कोहि त भने जहाजमा सरर कोहि त भने पसिना तरर” को अवस्था विद्यमान छ। विश्वका सबैभन्दा गरिब ३.८ अरब जनतासङ्ग जति सम्पत्ति छ त्यति सबैभन्दा धनी केवल २६ जनासङ्ग छ र विश्वका सबैभन्दा धनी १% जनतासङ्ग विश्वको जम्मा सम्पत्तिको ४४.८% हिस्सेदारी छ । ती सबैभन्दा धनी २६ व्यक्तिहरुको सम्पत्तिमा १२% को वृद्धि हुँदै गर्दा सबैभन्दा गरिब आधी ( लगभग ३.८ अरब ) जनसंख्याको सम्पत्तिमा ११% गिरावट हुनुले के संकेत गर्छ भने धनी र गरिब बीचको खाडल झनै बढ्ने र भयावह स्थिति आउने सम्भावना छ। बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित छन्। हतियार अविष्कार र निर्माणको होडबाजीमा एटम र हाइड्रोजन बमको प्रयोगको खतरा बढ्दै गएको छ। जसरी राजकुमार आर्क ड्युकको मृत्यु र हिटलरको सनकको कारणले दुई ठुला महायुद्धहरु भए र संसारले ठूलो मुल्य चुकाउनु पर्यो , त्यस्तै कुनै सानो असमझदारी वा घटनाले गर्दा समस्त मानव जातिको आम नरसंहार नहोला भनेर भन्न गाह्रो छ। तसर्थ रास्ट्रवादी रास्ट्रीय सरकारको विकल्पको रूपमा समाजवादी अन्तर्राष्ट्रिय सरकारको परिकल्पना गर्दा के होला ? यो परिकल्पना आफैमा उदेकलाग्दो छ तर यो अपरिहार्य छ धेरै दृष्टिकोणले। समस्त मानव जाती र सुन्दर पृथ्वीको अस्तित्वको लागि समाजवादी अन्तर्राष्ट्रिय सरकार बनेको खण्डमा निम्नानुसारको फाइदा हुने निश्चित छ।
१. जलवायु परिवर्तन र global warming माथि नियन्त्रण र न्यूनीकरण गर्न सजिलो हुनेछ।
२. प्राकृतिक प्रकोप व्यवस्थापन र न्यूनीकरण गर्न सक्षम हुनेछ।
३. लगभग १५ हजार एटम र हाइड्रोजन बम निष्क्रिय गरेर त्यसलाई शान्तिपूर्ण उद्देश्यको लागि संचालन गर्न सकिनेछ।
४. तेस्रो विश्व युद्ध र अन्य क्षेत्रीयस्तरमा युद्ध नहुने।
५ खनिज सम्पदाको समुचित प्रयोग गरेर रोग,भोक, गरिबी उन्मुलन गर्न सकिनेछ।
६. सभ्यताहरु, धर्महरु, संस्कृतिहरु र नश्लहरुबीचको युद्ध र टकराव रोक्न सकिने र आपसी आदानप्रदानले समझदारी बढ्नेछ।
७. असमानता र सबै खालको विभेदको अन्त्य गर्न सकिनेछ।
८. एउटै मोडेलको राजनीतिक, कानुनी र आर्थिक व्यवस्थाले सबै जनतामा जोश र आत्मविश्वास बढ्ने भएकोले बिकास र समृद्धिले ठुलै फड्को मार्नेछ।
९. Steroid, comet र alien जस्ता बाह्य खतरासङ्ग लड्न सक्षम भई पृथ्वीको सुरक्षा गर्न सफल हुनेछ।
१०. सैनिक खर्च १.८ Trillion USD कटौती गरेर पुरै विश्वको गरिबी र भोकमरीको अन्त्य गरि शिक्षा र स्वास्थ्यमा प्रयोग गर्न सकिनेछ।
११. यतिबेला कोभिड-१९ को महामारीबाट सृजित आर्थिकसामाजिक र स्वास्थ्य समस्यासङ्ग एक भएर लडेको भए निकै सहजतापुर्वक नियन्त्रण र रोकथाम गरि यसको प्रभाव न्यूनीकरण गर्न सकिन्थ्यो।

मार्क्सले भनेजस्तो राज्यविहिन ( stateless ) र बर्गविहिन ( classless ) समाजको गठन गर्न गाह्रो छ। तर समाजवादको मुल सिद्धांत समानता, समता, समावेशीता, समानुपातिकता र न्यायमुलक सामाजिक संरचना निर्माण अभियानलाई समातेर राज्यको सबै निकायमा सबै जात, धर्म, संस्कृति, भाषा, भूगोल, लिङ्ग, रङ्गलाई समेटेर साझा फुलबारी बनाउने विशुद्ध राजनैतिक प्रयास भयो भने आपसी मेलमिलाप, भाईचारा, समझदारी, विश्वास, समन्वय र सहयोग बढ्ने र शान्ति र प्रेमको वातावरण सृजना हुनेछ। भौतिक द्वन्दवाद र वर्गसंघर्षको आवश्यकता पनि कमै हुनेथियो ! साझा फुलबारीको अवधारणा र निर्माणपछि meritocracy लाई नै सबै क्षेत्रमा लागू गर्न सकिन्थ्यो।

अब प्रश्न उठ्न सक्छ कि, के अन्तर्राष्ट्रिय सरकार निर्माण सम्भव छ ? झट्टै हेर्दा यो सम्भव देखिदैन। पहिले कारण त मानवीय गुण र प्रवृति नै हो। दोस्रो कारण, स्कुल शिक्षा लिन थालेदेखि नै मातृभूमिप्रतिको प्रेम, देशभक्ति र रास्ट्रीयताबारे कलिला बालबालिकाको मस्तिष्कमा गौरव गाथा यति भरिन्छ कि उ त्यसैलाई अन्तिम लक्ष्मण रेखा ठान्न थाल्छ। तेस्रो कारण, शासक बर्गको स्वार्थ र सत्ता लिप्सा नै हो, जो यथास्थितिवादी छ र जनताले जेसुकै गुमाओस तर उ केहि गुमाउन चाहदैन।

विश्वका यी लगभग २०० जति देशहरू न त धर्मको आधारमा गठन भएका छन् , न त नश्लको आधारमा ! सभ्यताको आधारमा पनि बनेको होईन। भूगोल र भू-अवस्थितिको आधार मानेर बनेको पनि होईन। न त नदिको आधारमा न त समुद्र र महासागरको आधारमा ! अनि प्रश्न गर्न मन लाग्छ ” के आधारमा बनायौ यो वा त्यो देश ?” देश गठन गर्न कुनै मापदण्ड, नियम, आधार, मुल्य, मान्यता र विचार चाहिदैन ? इतिहासमा लडाकुसेनाको भरमा अनवरत युद्ध र हिंसा गरेर आक्रमण र प्रत्याक्रमण गरेर, एक अर्कालाई काटमार गरेर स्थापना गरिएका यी रास्ट्रहरु र यसका सरकारहरु सधैं यस्तै रहदैन भन्ने कुरो इतिहासले प्रमाणित गरिसकेको छ। साम्राज्य बन्ने र भत्कने, उपनिवेशिकरण र विघटन, सभ्यता निर्माण र समाप्ति साथै संघर्ष र बिराम हुँदै आज नयाँ युगमा प्रवेश गरेको भनेर भनिए पनि यो दुनियाँमा नयाँ भन्ने केही हुन्न। अहिले जे नयाँ छ, यो यतिबेलाको लागि नयाँ हो। भोलि अर्कै नयाँ आउँछ। हिजो तपाईंले प्रयोग गर्नु भएको मोबाइल त्यतिबेलाको लागि नयाँ थियो। अहिले त्यो छ नयाँ ?

मलाई लाग्छ, हिजो जे थियो त्यो आज छैन। आज जे छ त्यो भोलि रहन्न। समय, परिवेश र सन्दर्भसङ्ग जोडेर हामीले कुनै वस्तु वा घटनालाई विश्लेषण गर्दैनौं भने हामीले बुझेको ठहरिदैन। हामी कुरा बुझ्ने मानिसमा गनिन्छौ जस्तो लाग्दैन। तसर्थ आठ अर्ब मनुष्यको हित र सुरक्षा विभाजित राज्य, विभाजित मानसिकता, विभाजित मन र विभाजित बुझाईबाट सम्भव छैन। एक, एउटा, एकता र एकीकरणको आम साझा धारणा बाहेक यो विश्व मानव जातिको कल्याण छैन। १५ हजार एटम , हाईड्रोजन र थर्मोन्युक्लियर बम रहेको सबै नौवटै देशका शासकहरुको मति बिग्रन पर्दैन। कुनै एउटा मात्र बहुलायो भने काम तमाम !!!


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *