धर्म र शिक्षा : हाम्रो अन्यौलता

संसारमा सबैभन्दा बढी धर्म गर्ने धार्मिक मान्छे भारतीय र सबैभन्दा बढी तिर्थयात्रा गर्ने तिर्थालु (लगभग ८० लाखभन्दा बढी प्रती वर्ष) भारतीय तर सबैभन्दा बढी पापजन्य काम भारतीयबाट र सबैभन्दा बढी अपराध गर्ने जनता भारतीय छन् । अपहरण, महिला हिंसा, बलात्कार, हत्या, चोरी, धोकाधडी, लुट, पाकेटमारी, बाल-विवाह, देह ब्यापार र बालबालिका बेचबिखन लगायत अपराधिक कार्यमा भारत न. १ ! नेपाल पनि यो रोगबाट अछुतो भने छैन। यहाँ पनि अनेकौं विकृति, विसङ्गती र अपराधजन्य घटना हुँदै आएको छ।

किन यस्तो हुन्छ ? किन धर्म र सामाजिक गतिविधि बीचमा तारताम्यता मिल्न नसकेको ? धर्मशास्त्रले मानिसमा उचित र सकारात्मक परिवर्तन किन ल्याउन नसकेको ? भगवान रामले सीतामाथि गरेको अन्याय देखेर उनका भक्तहरूले पनि महिलालाई जे गरे नि हुने भनेर सिकेका हुन् कि ? भगवान कृष्णको असंख्य गोपिनीसङ्गको रासलीला र प्रेमलीलाको कथा सुनेका भक्तहरूले त्यसै गर्नुपर्छ भनेर बुझेका छन् कि ? भगवान शिवको गाँजा, भाङ्ग र धतुरो लगायतको नशासङ्गको प्रेम देखेर युवा पुस्ता पनि महादेव बन्ने सोचाइमा पुगेका हुन् कि ? त्यसैगरी अनेकौं भगवानहरुको जीवनीबाट पनि यस्तैयस्तै नकारात्मक सिकाई र बुझाई ग्रहण गरेका हुन् कि ? अझै मनुस्मृतिलाई पनि धर्मशास्त्रको रूपमा लागू गर्ने कार्यले समाजमा जातीय र लैङ्गिक विभेद र उत्पीडन निकै उचाईमा पुगेको र त्यसबाट प्रतिपादित वा भनौ त्यसले सृजना गरेको समाजमा रहेको शोषण , उत्पीडन , अन्याय र विभेदविरुद्ध एक्काइसौं शताब्दीमा पनि लड्नु परिरहेको छ। महिला र सुद्र जातिमाथि हजारौं वर्षदेखि हुँदै आएको अत्याचार र अन्यायको जिम्मा कसैले लिनु पर्दैन। धर्मको आडमा र नाममा गरिएका हजारौं-लाखौं पाप र अपराधको लागि को जिम्मेवार ? व्यक्ति कि धर्म ?

हजारौं – लाखौं खर्च गरेर तिर्थयात्रा गर्नेहरु र मन्दिर , मस्जिद , चर्च र गुरुद्धारा जानेहरूबाट किन पाप र अपराध हुन्छ ?

करोडौं जनताको दैनिकी पुजा-पाठ , भजन – किर्तन र प्रवचनमा बित्छ तर किन उनीहरुको मन – मष्तिस्कमा अपराध र पापको किरा पलाउँछ ?

धर्म र अपराध दुबै विपरीत ध्रुवका तत्वहरु वा अवयब हुन् कि परिपुरक ? गहिरो अनुसन्धान र अध्यन हुनुपर्छ !

धर्मले अपराध र पाप नियन्त्रण गर्दैन । धार्मिक अनुष्ठान र सत्सङ्गले मान्छेलाई असल मानव बनाउदैन। जिम्मेवार र असल नागरिक पनि बनाउदैन।

शिक्षा प्रणाली कस्तो छ ? विद्यालयको वातावरण र शिक्षक कस्ता छन् ? पाठ्यक्रम कस्तो छ ? यावत कुरोले एउटा विद्यार्थीको mindset वा concept – building गराउँछ। तर यो भन्दा एउटा विद्यार्थीमाथि उसको परिवार, समाज र सामाजिक क्रियाकलापको प्रभाव बढी पर्दछ। चारैतिर बिग्रेको र भत्केको देख्ने बालबालिकाको मन र मष्तिस्कमा बिग्रेको र भत्केको तस्वीरहरु चित्रण हुन्छ । परिवार र सेरोफेरोमा बोलिएको, गरिएको, देखाइएको र भोगाइएको सबै चिजको प्रभाव हुर्किदै गएको त्यो बालबालिकामा पर्छ। पशुभन्दा मान्छे फरक छ किनभने उसङ्ग आफुले सुनेको , देखेको र भोगेको सबैथोक आफुभित्र लिने , ग्रहण गर्ने र स्मरण गर्ने क्षमता छ । उसङ्ग भएको त्यही स्मरण क्षमता ( memorisation power ) र ग्रहण गरेको ज्ञान र अनुभवको आधारमा ठिक र बेठीक छुट्याउने , निर्णय गर्ने र त्यसैअनुसार कार्य गर्ने भएकोले उनीहरुको मस्तिष्कमा के भर्दैछौ ? बालबालिकाको मस्तिष्कमा नकारात्मक input नकारात्मक output र सकारात्मक input सकारात्मक output हुन्छ। Input अनुसारको Output आउने कुरा हामीले बुझ्न जरुरी छ। As you sow so you mow ! रोप्ने बेलामा कटहर रोप्ने अनि आँप फल्छ भनेर अपेक्षा गर्नु मुर्खता बाहेक केही हुन्न। विद्या र बुद्धि सरस्वती मातालाई पुजा-आराधना गरेर खुसी पारेपछि उनैले दिनुहुन्छ भनेर ती कलिला बालबालिकाको मस्तिष्कमा जबर्जस्त तरिकाले भर्ने र सिकाउने विद्यालय र त्यसका माड्साबले कुन नैतिकता, आदर्श, दर्शन र मान्यताको जगमा टेकेर कक्षामा पढाउदै हुनुहुन्छ ? डाक्टर, इन्जिनियर र पाइलट बन्नुपर्छ; रिक्सा चलाउने, हलो जोत्ने, गाडी चलाउने, होटेल, उद्योग लगायत अन्य क्षेत्रमा मजदुरी गर्ने कामलाई अवमूल्यन गरेर, त्यस्ता कामहरूलाई तल्लो स्तरको भनी मापन गर्ने र कलिला बालबालिकाको मस्तिष्कमा भर्ने परिवार, समाज र विद्यालयले भोलि तिनै बालबालिका युवा भएपछि काम गर्दैन, श्रम गर्दैन भनेर आलोचना गर्नुलाई दुइजिब्रे, दोधारे र विरोधाभासपूर्ण भन्न मिल्ने कि नमिल्ने ? म त भन्छु हाम्रो धर्मशास्त्र , सामाजिक संस्कृत , संस्कार र आफैभित्रको रहेको द्विविधा र अन्यौलता सबैभन्दा पहिले हटाउनु पर्छ। हामी हाम्रो बालबालिकालाई मानव जातिको सृष्टि अर्थात उत्पत्ति सम्बन्धमा सिकाउदा ब्रम्हा र डार्विन सङ्गसङ्गै मिसमास पारेर सिकाउदैछौ। परिवार र समाजले भगवान ब्रम्हाले हाम्रो सृष्टि गरेको भनेर सिकाउछ, उता विद्यालयमा शिक्षकले चार्ल्स डार्विनको उत्पत्तिको सिद्धांत पढाएपछि हाम्रा बालबालिकामा अलमलिन्छन, अन्यौलता सृजना हुन्छ, विरोधाभास जन्मिन्छ उनीहरुको मस्तिष्कमा र यसबाट अन्त्यमा उनीहरु मानसिक रूपमा प्रताडित हुन्छन्। विरोधाभास नै विरोधाभास, अन्यौलता नै अन्यौलता र शैक्षिक ढाँचा, मुल्य, मान्यता र विविधताको टकरावको बीचबाट निस्केका पुस्ताबाट आदर्शवादी व्यवहारको अपेक्षा गर्नु मुर्खता हो। धर्म र शिक्षालाई मिस्मास र अन्तरघुलन गर्दा हुने उत्पादन आफैमा अलमलिएको छ, अनि उसले गर्ने यात्राले के कुनै गन्तव्यमा पुर्याउला र ?

बरु अध्यात्मिक कक्षा संचालन गर्न सकिन्छ विद्यालयमा । मानव र मानवताबारे कुरो गरौं विद्यालयमा । Competition को कुरो भन्दा विद्यालयमा Co- operation को कुरो गरौं ! “म ” सिकाउनुको सट्टा “हामी” को सामुहिकतामा जोड दिउँ। धेरै भ्रष्ट जनशक्ति (ईन्जिनियर , डाक्टर , प्रशासक र नेता) जन्माउनुभन्दा थोरै ईमानदार देशभक्त नागरिक उत्पादन गर्दा देशको कल्याण हुन्छ भनेर बुझौं । सनातन संस्कृति, परम्परा, मुल्य, मान्यता र नैतिक शिक्षामा धेरै जोडबल नगरौं किनभने जति जति यसमा जोडबल गर्यो त्यति त्यति नै भ्रस्टाचार, बेतिथी र कुशासन बढ्दै गएको छ। बरु बैज्ञानिक, प्राविधिक र व्यावसायिक शिक्षा, तालिम र सीप बिकासतर्फ पाठ्यक्रम बनाएर देशभित्र र बाहिर बिक्न सक्ने जनशक्ति उत्पादन गर्ने हो कि ? अब STEAM शिक्षा प्रणाली लागू गरे हुन्छ।

धर्मलाई कि त एक्काइसौं शताब्दी अनुरुप परिवर्तन गरौ वा धर्मको प्रभाव – क्षेत्रबाट माथि उठेर शिक्षालाई पहिलो प्राथमिकतामा राखौ । दोस्रो विश्वयुद्धपछिको जापानको शिक्षा नीति अप्नाउ वा फिनल्यान्डको वर्तमान शिक्षा नीतिको अवलम्बन गरौं । अन्यौलमा कहिलेसम्म बस्ने निरीह जीवजन्तूजस्तै ?

हामीले कुनै पनि रूपमा जे धारण गर्छौ त्यही धर्म हो। एउटा बालकले जे सुन्छ, देख्छ, भोग्छ, भित्रबाट अनुभूत गर्छ र आफ्नो मेमरी भण्डारमा राख्छ , त्यसैअनुरूप परिवार, समाज र देशमा उसले आफ्नो भाषा र व्यवहार प्रकट , प्रदर्सन र अभिव्यक्त गर्छ। एउटा किसानले बिउबिजन, बालीनाली, अन्नपात बारेमा सोच्नु , ब्यापारीले नाफा-नोक्सान बारेमा सोच्नु, शिक्षकले अध्यन अध्यापन बारेमा सोच्नु, सेनाले सीमा सुरक्षा बारेमा सोच्नु आदि स्वाभाविक नै भए जस्तै जुन विषय र क्षेत्रमा बढी समय, श्रम र ध्यान दिइन्छ त्यही विषय र क्षेत्रमा जानकार र विशेषज्ञ हुने अनि त्यससम्बन्धी हाम्रो गतिविधि र व्यवहार प्रकट हुने गर्दछ। जिन्दगीमा जुन कर्म गरिन्छ , त्यही कर्म धर्म हो। कर्म धर्मले निर्धारण गर्दैन। धर्म कर्मले निर्धारण गर्छ। असल कर्म असल सिकाईबाट आउँछ। असल सिकाई असल दर्शनबाट आउँछ। असल दर्शन असल मनुष्यबाट आउँछ। तसर्थ आजैदेखि असल मनुष्य बन्ने कोशिस गरौ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *