नेकपाका सिन्धुलीबाट प्रतिनिधित्व गर्ने सबै नेताको साझा दृष्टिकोण ‘पार्टी विधि र पद्धतिमा चल्नुपर्छ’

नविन श्रेष्ठ
सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी भित्रको मुख्य विवाद भनेको पार्टी विधि र पद्धतिमा नचलेको भन्ने नेकपा सिन्धुलीका नेताहरुको साझा बुझाई रहेको छ । सिन्धुलीबाट प्रतिनिधित्व गर्नुहुने नेकपा स्थायी कमिटि सदस्य हरिबोल गजुरेल देखि जिल्ला अध्यक्ष राजन दाहाल सम्मको एउटै दृष्टिकोण भनेको पार्टी विधि र पद्धतिमा चल्नुपर्छ भन्ने नै हो ।
नेकपा स्थायी कमिट सदस्य हरिबोल गजुरेल, केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज विशमलाल अधिकारी दनुवार, केन्द्रिय सदस्य तथा जिल्ला सह–इन्चार्जहरु गणेश पहाडी, कमलजंग राई, उमा कोईराला, केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष राजन दाहाल र जिल्ला सचिव प्रदिप कटुवाल सम्मका नेतहरुको साझा आवाज भनेको ‘पार्टी विधि र पद्धतिमा सञ्चालन हुनु पर्ने र कुनै पनि हालतमा फुट्नु हुँदैन’ भन्ने हो ।
सिन्धुली अपडेट साप्ताहिक/सिन्धुली खबर डकमलाई प्रतिकृया दिंदै नेताहरुले अहिले विवादलाई लिएर पक्ष र प्रतिपक्ष भएर सडकमा आन्दोलन गर्नु नहुने तर्क गरेका छन् । पार्टीको केन्द्रमा रहेको विवादलाई पार्टीको तल्लो तह सम्म पु¥याउन नहुने उनीहरुको भनाई छ ।
नेकपा स्थायि समिति सदस्य तथा सिन्धुली क्षेत्र नं. २ बाट निर्वाचित संघीय सांसद हरिबोल गजुरेलले पार्टी एकताको विशेष परिस्थितिमा दुई अध्यक्ष व्यवस्था गरिए पनि अहिले पार्टीमा अन्तरघुलन भई सकेकोले दुई अध्यक्ष मध्य एकलाई पार्टी नेतृत्व र अर्कोलाई सरकारको नेतृत्व गर्न दिएर अहिलेको समस्या हल गर्नु पर्ने वताउनुभयो ।
त्यस्तै जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य विशमलाल अधिकारी दनुवारले जनताले स्थायि सरकारको म्याण्डेट दिएकोले सरकार फेरवदलको कुरा गर्नु नहुने वताउनुभयो । पार्टीको विवाद नेतृत्वले बसेर टुङ्गोमा पु¥याउनुपर्ने र पार्टीको विवादलाई सडकमा लगेर समर्थन वा विरोधमा आन्दोलन गर्नु नहुने सुझाव दिनुभयो ।
पार्टीका केन्द्रिय सदस्य तथा सिन्धुली क्षेत्र नं.१ बाट निर्वाचित संघीय सांसद गणेश पहाडीले स्थायि सरकारको म्याण्डेट नेपाल कम्युनिष्ट पार्टीलाई दिएकोले कुनै व्यक्ति फेरिने कुरालाई स्थायि सरकारको एजेण्डा वनाउनु नहुने वताउनुभयो । प्रतिनीधि सभा सदस्य पहाडीले पार्टीलाई एकढिक्का वनाएर अगाडी वढ्न दवाव दिईरहेको समेत वताउनुभयो ।
पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला सह–इन्चार्ज कमलजंग राईले सरकार पार्टीले सञ्चालन गर्ने भएकोले पार्टी भन्दा माथि सरकार हुनु नहुने तर्क गर्नुभयो । “पार्टी पद्धतिसंगत ढंगले चल्नुपर्छ । कसले के ग¥यो भन्दा पनि पद्धति अनुसार पार्टी चल्यो भने सबै समस्याको समाधान हुन्छ । मूल कुरा त पार्टी हो, त्यस पछि सरकार हो । पार्टी नीतिसँगत ढंगबाट चल्यो भने त सबै कुरा ठिक हुन्छ” राईले भन्नु भयो ।
त्यस्तै केन्द्रिय सदस्य तथा जिल्ला सह–इन्चार्ज उमा कोईरालाले केपि ओलीले पार्टी अध्यक्ष छाडेर प्रधानमन्त्री पदमात्र चलाउनु पर्ने कुरामा जोड दिनुभयो । सह–इन्चार्ज कोईरालाले खुलेरै भन्नुभयो ‘ओलीले अध्यक्ष छाडेर माधव नेपाललाई अध्यक्ष बनाउनुपर्छ ।’
एता केन्द्रिय सदस्य तथा नेकपा सिन्धुलीका अध्यक्ष एवं प्रदेश सांसद राजन दाहालले सरकारलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने र पार्टीलाई अनुशासित तथा गतिशिल ढंगले सञ्चालन गर्ने दुई ओटा विषयमा बहस भई रहेको वताउनुभयो । “सरकारमा देखिएको भष्ट्राचार नियन्त्रण, पारदर्शी ढंगले अगाडी वढाउने र पार्टीको सन्दर्भमा एकता प्रकृयाका बाँकी काम पूरा गरि सिंगो पार्टी सन्चालन गर्ने दुई ओटा विषयमा केन्द्रित भएर बहस भई रहेको छ । यो करिब करिब उत्कर्षमा पुगेको छ । यो उत्कर्षले ठोस निष्कर्षमा पु¥याउँछ ।” अध्यक्ष दाहालले भन्नुभयो ।
एक व्यक्ति एक पद व्यवस्था हुनुपर्छ: सांसद गजुरेल
एकै व्यक्तिले दुई कार्यकारी पद लिँदा दुवै तर्फ फितलो भएकोले एउटा पद छाडेर जानु पर्छ भन्ने एक पक्षको माग छ भने अर्को पक्षको दुवै पद छाड्दैनौं भन्ने अडान रहेको छ । यो नै अहिलेको विवादको विषय हो ।

सहमतिमा पुग्नुको विकल्प छैन, सहमतिको अर्को पाटोमा जाँदा वर्वाद हुन्छ भन्ने दुवै नेताहरुले महसुस गरेको देखिन्छ । पार्टी फुट्यो भने यसको असर केन्द्रमा मात्र पर्दैन, तलसम्म पर्छ । यसले त झन ठूलो भद्रकोल पैदा हुन्छ । अनि जनतामा परिवर्तन प्रति वितृष्णा पैदा जाग्छ । त्यसैले मिल्नुको कुनै विकल्प छैन । सहमतिको लागि बहस भैरहेको छ ।
पार्टी एकता प्रकृयामा दुई ओटा अध्यक्ष राखियो । अहिले अन्तरघुलन धेरै नै भई सक्यो । महाधिवेशन सहमतिबाट गर्ने भएको हुनाले अब दुई ओटा अध्यक्ष आवश्यक भएन भन्ने लाग्छ । एउटा अध्यक्ष पार्टी चलाउने र अर्को प्रधानमन्त्री बन्ने । यसो गर्दा चाहीं ठिक हुन्छ किन भने एक अर्काको आवश्यकताको पनि बोध हुन्छ । पार्टीको कामको हिसावले प्रधानमन्त्रको चासो हुन्छ र सरकारको काममा पनि अध्यक्षको चासो हुन्छ । एक अर्काकोको आवश्कताको महसुस हुने र सहकार्यको स्थीति पनि पैदा हुन्छ । यो नै अलिहेलेको उत्तम विकल्प हो ।
प्रधानमन्त्रीको राजिनामा त्यति सान्दर्भिक हुंदैन अहिले । अहिले जुन परिवेशमा छौं, यो अवस्थामा प्रधानमन्त्रीको राजिनामा सान्दर्भिक हुँदैन । मेरो विचारमा राष्ट्रियताको सन्दर्भमा पार्टीको निर्देशनमा सरकारले जुन पहलकदमी लिएको छ, त्यस्ले राष्ट्रलाई एकतावद्ध गराएको छ । त्यसलाई कार्यान्वयन गराउन बाँकी छ । यस्तो अवस्थामा सरकार परिवर्तनले अर्को अर्थ लाग्न सक्छ । हाम्रो आन्तरिक कुरा भए पनि धेरै कुरासँग जोडिन्छ । त्यस अर्थमा पनि राम्रो हुँदैन । तर अहिले कार्य विभाज गरेर जाँदा नै राम्रो हुन्छ । एउटाले प्रधानमन्त्री र अर्कोले पार्टी अध्यक्ष चलाउँदा समस्याको गाँठो फुक्छ ।
स्थायी समितिका बहुमत सदस्यले बैठकको माग गर्दा पनि बैठक बोलाइएन, पार्टी व्यक्तिवादी भयो, पार्टी विधि र पद्धतिमा चल्न सकेन । मेरो चाहीं विचार के थियो भने अहिलेको समस्याको अस्थायि समाधान हो यो । मुख्य कुरा यो पार्टी नयाँ पार्टी हो । अन्तराष्ट्रिय रुपमा आयाम सहितको नयाँ पार्टी हो । नयाँ पार्टी पूरानो शैलीमा चलाईरहेका छौं, विधि पूरानै, पद्धति पूरानै र कार्यशैली पनि पूरानै छ । यसरी त चल्दैन नि । मुख्य समस्या चाहीं यहीं छ । यो हल नगरे सम्म यस्तो समस्या बेलाबेलामा आई रहन्छ । जो नेता भए पनि पूरानै शैलीमा चल्यो भने नयाँ परिणाम निक्लिदैन । नयाँ पार्टीमा नयाँ विधि बनाउनु प¥यो । नयाँ नीति, नयाँ कार्यक्रम, समाजवाद उन्मुख कार्यशैली चाहियो । जसले जे गरे पनि व्यक्तिवादी हुँदै गयो । यो कार्यशैली सामान्तवादी कार्यशैलीको पराकाष्ठामा नै पुगेको छ । पार्टीले नै त्यो कार्यशैली अंगालेपछि समाजवाद त लेखिने कुरा मात्र हुन्छ । स्थायी समाधानको लागि समाजवाद उन्मुख नीति तथा कार्यशैली चाहिन्छ । जनताको माग छ एउटा तर नेताहरुको कार्यशैली अर्कोतिर गइरहेको छ । यसले दुर्घटना निम्त्याउँछ । अहिले एकले अर्कोको खुलेर सडकमा गएर विरोध गरिरहेको छ । यस्तो पनि कहिँ कम्युनिष्ट पार्टी हुन्छ त ? अनुशासन छैन, विधि, पद्धति छैन । जनताले चाहेको यस्तो पार्टी होईन । कम्युनिष्ट पार्टीको त मूल्य मान्यता हुन्छ । सिद्धान्त हुन्छ । आचारण हुन्छ । त्यसर्थ नयाँ नीति, नयाँ विधि, नयाँ आचारण जरुरी छ । त्यो बाटोमा जानलाई अहिले परेको गाँठो फुकाउनु प¥यो अनि त्यो दिशामा जान स्थायि समितिले निर्णय गर्नुप¥यो ।
स्थायि सरकारको म्यान्डेट भएकोले अहिले सरकार फेरबदल गर्नु हुंदैनः जिल्ला इन्चार्ज विशमलाल अधिकारी दनुवार
मूल समस्या भनेको विधि पद्धतिमा नहिंड्नु नै हो । विधि पद्धति, जनवादि केन्द्रियता नमान्नु नै अहिलेको समस्या हो । पार्टी एकिकरण पश्चात सर्वाधिकार दुई अध्यक्षलाई दिईयो ।

यसले गर्दा दुई अध्यक्ष विच के–के सम्झौता भयो, त्यो कार्यान्वयन नभएकोले समस्या भएको देखिन्छ । तर दुई अध्यक्ष वीच समहमति भए पनि अहिले स्थायि सरकारको लागि भनेर मत मागिएकोले विचमा फेरवदल गर्दा समस्या हुन्छ । निर्वाचनमा केपि ओलिलाई नै भावि प्रधानमन्त्री बनाउने भनेर पनि मत मागिएको हो । विचमा परिर्वतन गर्दा धेरै समस्या हुने भयो । तर सरकार चाहीं जुन तहको सरकार भयो त्यहि तहको पार्टीले चलाउने हो । संघीय सरकार पार्टीको केन्द्रिय कमिटि, स्थायि समिति वा सचिवालयले नै चलाउने हो । त्यति नभए दुई अध्यक्षहरु वीच सहमतिमा सरकार चल्दा समस्या हँदैन । कुकुरले पुछार हल्लाउने कि पुछारले कुकुर हल्लाउने भन्ने कुरा रह्यो । सरकार पार्टीले चलाउनु पर्छ, व्यक्तिले होईन ।
तत्कालिन नकपा एमालेले पनि फुट व्यहोरेर आएको हो । माओवादीले पनि धेरै फुट व्यहोरेर आएको हो । जनताहरुको अभिमत पनि पार्टी एकता नै भएको कारणले पार्टीको नेतृत्व तहले वुद्धि पु¥याउनु पर्छ । पार्टी कुनै पनि अवस्थामा फुट्नु हुँदैन । विधि र पद्धतिमा चल्ने हो भने समस्या समाधान हुन्छ । पार्टी फुट्यो भने कम्युनिष्ट पार्टीका कार्यकर्ता, अग्रज र सहिदहरुले जे उद्देश्य राखेर बलिदानि गरेका थिए त्यसमाथि आघात पुग्छ । त्यसर्थ पार्टी फुट्नु हुँदैन । सहमतिका बाटाहरु खोजेर अघि बढ्नु पर्छ ।
नेकपाको स्थायि सरकार हो, व्यक्तिको होईन: सांसद तथा केन्द्रिय सदस्य गणेश पहाडी
अहिले हाम्रो पार्टीको स्थायि कमिटिको बैठक चलिरहेको छ । केहि दिन स्थगित हुँदै फेरी बैठकले निरन्तरता पाईरहेको छ ।

हाम्रो पार्टी भित्र देखिएका समस्याहरु यहि विचमा स्यायि कमिटिको बैठकमा एजेण्डाहरु राखेर छलफल अगाडी बढि सके पछि नेतृत्वहरुको विचमा विवाद देखियो । यो बाहिर पनि छताछुल्ल भयो । सडकमा पनि व्यक्तिको पक्ष वा विपक्षमा नारा जुलुस सम्म गर्ने काम भयो । यसले हाम्रो पार्टीलाई व्यवस्थित ढंगले अगाडी वढाउने, हिजो दुई पार्टी वीच भएको एकताको बाँकी काम पूरा गर्ने र एकतालाई सुदृढ एकतामा परिणत गर्ने काममा यसले समस्या सिर्जना गर्छ । हाम्रो पार्टीमा देखिएको मुख्य समस्या भनेको पार्टी विधि, प्रकृया, पद्धति र प्रणालीमा पार्टी चल्न सकेन । यदि हामी विधि, प्रकृया, पद्धति र प्रणलीमा चल्ने हो भने सबै समस्याको समाधान त्यंहि हुन्छ । कम्युनिष्ट पार्टी निश्चित विधि र पद्धतिमा चलेको हुन्छ । एउटा विधानमा चलेको हुन्छ । त्यो विधान अनुसार चल्न सकेनौं भने त्यहिं समस्या हुन्छ । ती समस्या समाधान हुँदैनन् । समस्याको समाधान गलत ढंगले खोजियो भने गलत ठाउँमा पु¥याउँछ । अहिले भएको त्यहि हो । चलिरहेको बैठकबाट नै हामी भित्र देखिएका समस्याहरु, सरकार सञ्चालनमा देखिएका समस्या, पार्टी सञ्चालनमा देखिएका समस्या, एकता प्रकृया टुंगोमा नपुगेका समस्याहरु, कार्य विभाजनका समस्या, कार्यशैलिको समस्याहरु समाधान गरिनुपर्छ । स्थायि समितिको बैठकमा घनिभूत छलफल हुनु प¥यो र दोश्रो केन्द्रिय कमिटिले दिएको म्यान्डेट अनुसार यि समस्याहरु स्थायि समितिले सामाधान गर्नु प¥यो ।
हामी कम्युनिष्ट पार्टी सामूहिकतामा चल्ने पार्टी हो । यदि सामूहिकतामा चल्न सकेनौ र एक्लै हिँड्न खोज्यौं भने, एक्लैले पार्टीलाई हिँडाउछु भन्ने हो भने समस्या पैदा हुन्छ । अहिले देखिएको समस्या पनि त्यहि हो । पार्टी एकता प्रकृयामा दुई पार्टीका दुई अध्यक्षहरु वीचमा २०७५ जेष्ठ २ गते जुन खालको सहमति भएको थियो, त्यो सहमति पार्टीको कुनै नेताहरु बसेर गरेको वा पार्टीलाई साँक्षि राखेर गरिएको सहमति थिएन । दुई नेताहरु वसेर गरेको सहमति थियो । पछि २०७६ मंसिर ४ मा आईपुग्दा त्यो सहमतिको जगमा नै अर्को सहमति भयो । त्यो सहमति पनि व्यवस्थित ढंगले कार्यान्वन भएन । त्यसर्थ यि दुई सहमतिको जगमा टेकेर अहिले स्थायि समितिको बैठकबाट नयाँ निर्णय गरेर जानु पर्छ र त्यो सबैले कार्यान्वयन गर्नु पर्छ । पार्टीको संस्थागत निर्णयलाई सबैले मानेर जानुपर्छ ।
अहिले पार्टी भित्र विद्रोह हुने हो कि भन्ने बाहिरै छताछुल्ल देखियो । केन्द्रिय समितिका सदस्य तथा संघीय सांसदहरु वसेर अब हामी कसैको पक्षमा विपक्षमा लाग्दैनौं । पार्टीलाई एकतावद्ध वनाएर लैजाऊँ । हिजोका एकता प्रकृयाका बाँकी कामहरु टुंग्याऊँ । अहिले जनताको आशा र भरोसाको पार्टी भनेको नै नेकपा हो । संविधानको कार्यान्वयन, संवृद्ध नेपाल निर्माण गर्ने, राष्ट्रियताको जगेर्ना गर्ने जिम्मेवारी नेकपाको काँदमा छ । जनताले पनि विश्वास गरेर करिब दुईतिहाइ मत दिएका छन् । त्यसर्थ अहिलेको गतिविधि अत्यन्तै बेठिक भई रहेको छ भनेर नेताहरुलाई खबरदारि गरिरहेका छौं । कसैको पक्षमा वा विपक्षमा नलागि पार्टीको पक्षमा लागेर खबरदार पार्टी फुटाउलाउ भनेर दवाव दिई रहका छौं ।
सडकमा कसैको पक्षमा वा विपक्षमा नारा जुलुस गर्दैमा समस्याको समाधान हुँदैन । त्यसले समस्या झन बल्झाउँछ । सडकबाट समस्याको समाधान खोज्ने होईन । पार्टी भित्रको आन्तरिक समस्या, आन्तरिक छलफल बहसबाट नै समाधान खोज्नु पर्छ । त्यो बैठकबाट नै समाधान गर्नुपर्छ । प्रधानमन्त्री हट्न पर्छ वा पर्दैन भन्ने कुरा पार्टीको कुरा हो । सरकारको स्थायित्व भनेको नेकपाको सरकारको स्थायित्व हो नी । नेपाली जनताले नेकपालाई सरकार चलाउन म्यान्डेट दिएको हो । नेकपाको सरकार ढल्ने भन्ने कुरा त छैन । त्यसकारण नेताहरु बसेर छलफल गरुन् । सरकार सञ्चालनमा केहि समस्याहरु छन् । प्रधानमन्त्रीको कार्यशैलिमा समस्या छ । यसलाई सच्याएर जानुपर्छ । एक्लै हिँड्न खोजेर त हुंदैन नी । संस्थागत ढंगले चल्नु प¥यो । हामी सांसद जनता प्रति उत्तरदायि छौं । सांसदले, पार्टीले बनाएको मन्त्री, प्रधानमन्त्री । त्यसर्थ सांसद र पार्टी प्रति उत्तरदायिक हुनु प¥यो । यसरी चल्न सक्यौं भने देखिएका समस्याहरु समाधान गर्न सक्छौं भन्ने मलाई लाग्छ ।
मूल कुरा पार्टी विधि र पद्धतिमा चल्नु प¥योः सह–इन्चार्ज कमलजंग राई
पार्टी पद्धतिसँगत ढंगले चल्नु पर्छ । कसले के ग¥यो भन्दा पनि पार्टी पद्धतिमा चल्यो भने सबै समस्याको समाधान हुन्छ । मूल कुरा त पार्टी हो, त्यस पछि सरकार हो ।

पार्टी नीतिसँगत ढंगबाट चल्यो भने त सबै कुरा ठिक हुन्छ । पार्टीको मातहतमा सरकार चल्नु पर्छ भन्ने केन्द्रिय समितिबाट नै निर्णय भएर सबैले स्वीकारेर आएको हो । तर सरकार पार्टीको निर्णयमा चल्न सकेन । सबै तहका सरकार पार्टीको मातहतमा सञ्चालन हुनु पर्छ भन्ने नै हो ।
केपी ओलीले प्रधानमन्त्री पद छोड्ने वित्तिकै समस्याको समाधान हुने होईन । मूल कुरो पार्टी विधि पद्धति अनुसार चल्ने सन्दर्भमा सबै जनाले प्रतिवद्धता गर्नु प¥यो । कम्युनिष्ट पार्टी भित्र सामूहिक निर्णय पद्धतिमा नै चल्नु पर्छ । कहिलेकाहीं अल्पमत बहुमतको प्रकृयामा पनि जानु पर्छ । तर अल्पमतले बहुमतको कुरा मान्य र बहुमतले अल्पमतको विचारलाई पनि संरक्षण गरेर जानु पर्छ । पार्टी कुनै हालतमा फुट्दैन । पार्टी कुनै व्यक्तिको इच्छाले फुट्दैन, पार्टी सिद्धान्त र विचारले फुट्ने हो । सिद्धान्त र विचारको सन्दर्भमा कुनै बहस र छलफल नै भएको छैन । यो अवस्थामा पार्टी फुट्छ भन्नु त्यो राजनीतिक ज्ञान नहुनु हो ।
सिन्धुलीमा कोही कसैको समर्थन वा विरोधमा जुलुस हुन दिएका छैनौं । त्यो हुनु पनि हुँदैन । जहाँ जहाँ भयो त्यो गलत भयो । हामी एउटै पार्टीमा छौं । पार्टीको स्थायि कमिटिको बैठक साउन २ गते बस्दै छ । पार्टीले निर्णय गरेको छैन । पहिला नै कोकोहोलो मच्चाउन जरुरत नै छैन । त्यो अज्ञानता हो, त्यो उलडवादहरु हुन् । त्यस्ताहरुलाई म नेता मान्दिन । सिन्धुलीमा धेरै छलफल गरेर पार्टी मजवुत वनाएका छौं । केहि साना समस्याहरु होलान् ती समस्याहरु आन्तरिक छलफल गरेर अगाडी वढ्नु पर्छ ।
पार्टी र सरकारको नेतृत्व फरक फरक व्यक्तिले गर्नुपर्छः सह–इन्चार्ज उमा कोईराला
सामान्य छलफलको क्रमलाई विवाद भन्न मिल्दैन । कम्युनिष्ट पार्टीमा विचारको वहस हुन्छ । अहिले पनि विचारको बहस नै छ । अहिलेको विवादमा विचारको वहस छैन ।

४ जना नेताहरुको पद, प्रतिष्ठा मान सम्मान, पावरको भागवण्डा नमिलेको देखिन्छ । एक जनाले दुई ओटा कार्यकारी पद लिँदा अप्ठ्यारोे पर्ने र पद वाँडफाड गरेर काम गरौं भन्ने कुरा राम्रो नै हो । प्रधानमन्त्री एउटाले चलाउने पार्टी अध्यक्ष अर्काेले चलाउने भन्ने कुरा नराम्रो कुरा होईन ।
पार्टी भित्र पक्ष र प्रतिपक्ष हुनु हुँदैन । यो गलग कुरा हो । हामीले सिन्धुलीमा समर्थन वा विरोधमा कुनै गतिविधि गर्न दिएनौं । पार्टीलाई बलियो वनाउने सवालमा, पार्टीलाई एकढिक्का वनाउने सवालमा सिन्धुलीको नेतृत्व एकमत छ । अहिलेको सरकारको नेतृत्व केपि ओलि नै हुनुपर्छ । अहिले प्रधानमन्त्री फेर्ने भन्नेकुरा गलत हो । फेरियर आउने प्रधानमन्त्रीले पनि जस पाउँदैन । महाधिवेशनबाट आएको अध्यक्ष भए पनि अहिलेको परिस्थितिमा अध्यक्ष अर्कोलाई वनाएर पाँच वर्ष सरकार केपि ओली ले नै चलाउनु पर्छ । जनताले दिएको म्यान्डेट भएकोले ५ वर्ष प्रधानमन्त्री फेरिनुुुुुुुुुुुुुुुुुु हुँदैन । अध्यक्ष चाहीं प्रचण्डलाई कार्यकारी वनाएर लिएर जाने र केपी ओलीले छाड्दा माधव नेपाललाई दोश्रो अध्यक्ष वनाउदा खासै आपत्ति हुँदैन । अव नेता बाझ्ने होईन पार्टी एकता प्रकृया टुङगोमा पु¥याउने र संगठनलाई चुस्त दुरुस्त वनाउनेतिर लाग्नु पर्छ । महाधिवेशन एक वर्षपछि आउँदै छ । त्यसको तयारीमा जुट्नु पर्छ ।
सिन्धुलीमा पार्टी फुटको बिजारोपण हुँदैनः अध्यक्ष राजन दाहाल
सरकारलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने र पार्टीलाई अनुशासित र गतिशिल ढंगले सञ्चालन गर्ने दुई ओटा विषयमा बहस भई रहेको छ ।

सरकारमा देखिएको भष्ट्राचार नियन्त्रण पादर्शी ढंगले अगाडी वढाउने, पार्टीको सन्दर्भमा एकता प्रकृयाका बाँकी काम पूरा गर्ने र अनुशासित एवं गतिशिल ढंगले सञ्चालन गर्ने दुई ओटा विषयमा केन्द्रित भएर बहस भई रहेको छ । यो करिब करिब उत्कर्षमा पुगेको छ । यो उत्कर्षले ठोस निष्कर्षमा पु¥याउँछ ।
यो सरकार नेपाल कम्युनिष्ट पार्टीको सरकार हो । यसको आफ्नै घोषणा पत्र छ । र समाजवाद उन्मुख सत्ता हाम्रो जग हो । त्यसकारण हाम्रो जुन उद्देश्य हो, त्यो उद्देश्यसंग सरकार जोडिनु प¥यो । हाम्रो उद्देश्यसँग पार्टी जोडिनु प¥यो । पार्टी र सरकारले समाजवादको आधार तयार गर्ने उद्देश्यसँग जोडिएको हुनु प¥यो । अहिलेको नीतिगत वहस हो । व्यक्तिगत हिसावले कुनै पद लिने नलिनु भन्ने वहस होईन । उद्देश्य प्राप्तिको लागि सबै जाडिनु प¥यो । उद्देश्य प्राप्तीमा चुक्यौं भने पार्टी र सरकारको के अर्थ रहन्छ र ? ठूलो पार्टी त वनाईयो तर असल पार्टी निर्माण गर्ने कुरा र समाजवादसम्म पुग्ने दरिलो जग निर्माण गर्ने कुरामा अहिलेको बहस केन्द्रित छ । बहसलाई विसयान्तर गर्नु पनि भएन र वहस तार्किक निश्कर्षमा पुग्नु पर्छ । यो बहसले हाम्रो निश्चित उद्देश्य प्राप्तिको निम्ति सहयोग नै पुग्छ । पार्टी टुटफुट विभाजन भन्ने कुरा कल्पना पनि गर्न सकिदैन । किन भने जनता र कार्यकर्ताले अनुमोदन गरेको पार्टी एकता हो । अहिले पार्टीको फुट जनता पनि चाहाँदैनन् र सिङगो कार्यकर्ता पनि चाहादैनन् । त्यसकारण जनता र कार्यकर्ताको जे अपेक्षा हो त्यो नेतृत्वले सम्बोधन गर्नु नै पर्छ । नेतृत्व एकातिर जनता र कार्यकर्ता अर्को तिर हुनै सक्दैन । अहिले एकिकृत पार्टी निर्माण गर्ने कुरामा बहस केन्द्रित छ । निश्कर्ष पनि यसकै वरीपरिबाट निस्किन्छ । यो व्यक्तिगत हिसावले मात्र जोडिएको विषय होईन ।
७७ ओटा जिल्ला मध्य ७६ ओटा जिल्लामा पार्टी विभाजन आएपनि सिन्धुलीमा त्यस्तो हुँदैन । एउटै पार्टी नेपाल कम्युनिष्ट पार्टी नै सञ्चालन गर्ने हो । पार्टी फुटलाई जनताले अस्विकार गरेको छ । कार्यकर्ताले अस्विकार गरेका छन् । जे चिज जनता र कार्यकर्ताले अस्विकार गर्छन्, बहिस्कार गर्छन् त्यसको पक्षमा नेकपा सिन्धुली लाग्दैन । त्यस कारणले यहाँ समर्थनमा वा विरोधमा आन्दोलन हुँदैन । पार्टीमा देखिएको दरार जुन छ त्यसलाई घटाउने हो, बढाउने होईन । त्यसकारण नेतृत्व सचेत छ, विवेकपूर्ण ढंगले कदम चाल्छ । सिन्धुलीको सन्दर्भमा पार्टी कम्जोर हुने र पार्टी फुटको विजारोपन हुने तथा फुटलाई प्रसय हुने कुनै पनि गतिविधि हुँदैन ।