एस.इ.इ. खारेजी र यसका असरहरू

जनार्दन कोइराला

८५ दिनको कोमापछि अन्ततः २०७६ सालको एस इ इ परीक्षाले २०७७ जेठ २८ गते महाप्रस्थान गरेको छ । जुनबेला परीक्षाको नतिजा हातमा लिएर विद्यार्थी हरू बिच त्यसभन्दा अगाडिको मार्ग तय गर्ने योजना बन्दै हुन्थ्यो त्यो समयमा परीक्षा खारेजको सूचना हात परेको छ । यो समय विगतका वर्षहरूमा नतिजा प्रकाशित हुने समय हो । पूर्वनिर्धारित तालिका अनुसार परीक्षा भएको भए आजभोलि नतिजा प्रकाशित हुन्थ्यो । ०७६ चैत्र ६ गतेदेखि सुरु हुने पूर्वनिर्धारित कार्यतालिका रहेको परीक्षा कोरोना सङ्क्रमणको जोखिमको कारण देखाउँदै अन्तिम समयमा आएर अगिल्लो दिन अर्थात् चैत्र ५ गते अबेर हठात् स्थगित गरिएको थियो । यसबाट एउटा अन्योलको पनि अन्त्य त भएको छ । सँगै ४ लाख ८२ हजार २ सय १९ विद्यार्थीको एस.इ.इ. परीक्षाको तयारी समेत खेर गएको छ । १० वर्षको अनवरत मिहेनत पश्चात् आफ्नो क्षमता मूल्यांकन गर्दै भविष्यको मार्ग तय गर्ने उत्कट अभिलाषा र उत्साह बोकेर परीक्षाका लागि तम्तयार भएर परीक्षा केन्द्रको ढोकामा पुगेर परीक्षामा सामेल नभै फर्किनुपर्दा उनीहरू अवश्य पनि खुसी थिएनन् न त खारेज हुँदा नै उत्साहित छन् ।
१९९० सालदेखि सुरु भएको एस एल सीर एस इ इ परीक्षाको इतिहासमा पहिलोपटक विद्यार्थीहरूले यति लामो समय तयारी गरेका थिए र परीक्षा खारेज भएको पनि यो पहिलो पटक हो । विद्यार्थीहरूलाई अगाडि जाने विभिन्न अवसर र सम्भावनाहरुको ढोका खोल्ने भएकाले यो परीक्षालाई विद्यालय शिक्षाको फलामे ढोका ९क्ष्चयल नबतभ० पनि मानिन्थ्यो । १९९० सालदेखि एस एल सी को नामबाट सुरु भएको यस परीक्षाले २०७३ सालसम्म सोही रूपमा निरन्तरता पाउँदै आएको थियोे । २०७३ सालमा भएको शिक्षा ऐनको आठौं संशोधनले कक्षा १२ सम्मलाई माध्यमिक तह माने पश्चात भने यसको नाम परिवर्तन गरि एस इ इ बनाइयो । यसले यस परीक्षाको परम्परागत महत्त्व र ओजलाई समेत कम गरिदिएको थियोे । स्वरूप परिवर्तन भएको तेस्रो वर्षमै परीक्षा खारेज भएको छ । यससँगै यो परम्परा सदाका लागि अन्त्य हुने सम्भावना पनि बढेर गएको छ । कक्षा १२ लाई माध्यमिक तह तथा विद्यालय शिक्षाको अन्तिम कक्षा र सो कक्षाको अन्त्यमा एस एल सी परीक्षा लिन थालिसकेको सन्दर्भमा विगतदेखि नै यस परीक्षाको औचित्यमाथि प्रश्न उठाउँदै एस इ इ को प्रावधान अन्त्य गर्न आवाज उठिरहेको थियोे । अहिलेको अवस्थाले सो आवाजलाई अझ घनीभूत पारेको छ । यसैलाई दृष्टिगत गर्दै संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले पनि नीतिगत व्यवस्था गरेर एस इ इ को प्रावधान सदाका लागि अन्त्य गर्न सरकारलाई सिफारिस समेत गरिसकेको छ । त्यसैले पनि आगामी वर्षदेखि एस इ इ परीक्षा नहुने सम्भावना बढेर गएको हो ।
१. तत्कालिक तथा दीर्घकालीन असर
हरेक विद्यार्थी निश्चित सोच र योजनाका साथ अधि बढेको हुन्छ । एस इ इ परीक्षासँग गाँसिएका उनीहरूका विभिन्न सपना र पूर्व योजनाहरू हुन्छन् । आफ्नो १० वर्षको मिहिनेत र लगानीलाई प्रतिफलमा बदल्ने अवसरका रुपमा पनि यसलाई लिएका हुन्छन् । कतिले त यसलाई आफ्नो प्रतिष्ठाको विषय पनि बनाएका हुन्छन् । तर अनपेक्षित रूपमा एकाएक सो परीक्षा नै खारेज हुँदा त्यसले उनीहरूमा नकारात्मक मनोवैज्ञानिक असर पर्न सक्छ । सबै विद्यार्थीहरू एकनासका हुँदैनन् । कमजोर र पढाइलाई बोझका रूपमा लिने तथा अल्छी विद्यार्थीहरू परीक्षा दिनु नपरेकोमा राहत महसुस गर्दै उत्साहित भएका पनि होलान् तर मिहिनेती र अनुशासित विद्यार्थीहरूलाई अवश्य पनि यसले हतोत्साही बनाएको छ । जो आफूलाई प्रतिस्पर्धामा सामेल गराएर आफ्नो खुबी देखाउन चाहन्थे र जसले राम्रो मिहिनेत साथ तयारी गरेका थिए तिनमा यसले खिन्नता पैदा गरेको छ । विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा बोर्डबाट प्रमाणपत्र प्रदान गर्ने कुराले उनीहरूलाई उत्साहित तुल्याएको छैन । परीक्षाको सामना गर्न पाउँदा उनीहरू जति खुसी र सन्तुष्ट हुन्थे त्यो सन्तुष्टि उनीहरूलाई यसले दिन सक्दैन । यसरी प्राप्त गर्ने प्रमाणपत्रले जीवनभर कोरोनाको झल्कोले झस्काइरहन सक्छ । विगतका विद्यार्थीहरूले गर्ने खिसिट्युरीको उनीहरूले सामना गर्नुपर्ने हुन सक्छ । प्रादेशिक स्तरको परीक्षा भए ।पनि राष्ट्रिय परीक्षा बोर्डबाटै राष्ट्रिय परीक्षाकै ढाँचामा मुलुकभर एकैसाथ एउटै रुटिनका आधारमा संचालन गरिने र रा प बोर्ड बाटै एकैसाथ नतिजा प्रकाशित गरी प्रमाणपत्र जारी हुने भएकाले यसलाई राष्ट्रिय बोर्ड परीक्षाकै रूपमा लिने गरिन्छ । ढिलो चाँडो परीक्षा हुन्छ नै भनेर परीक्षाकै मानसिकता बनाएर बसिराखेको अवस्थामा हठात् गरिएको खारेजीको निर्णय पूर्व मानसिकता विना स्वीकार गर्नुपर्दा त्यो अवश्य नै अप्रत्याशित बन्न पुगेको छ । स्थगितको निर्णय जसरी अप्रत्यासित रूपमा आयो त्यसरी नै खारेजीको निर्णय आएको छ । कोरोना कहरबाट बच्न तत्कालका लागि यो सकारात्मक जस्तो देखिए पनि यसले छोड्ने छाप भने गम्भीर छ ।
२. कहाँ भयो त्रुटि ?
अहिलेको परिस्थितिमा तत्काल पुरानै स्वरूपमा परीक्षा परीक्षा गर्न सक्ने अवस्था छैन । जतिबेला कोरोनाको जोखिमलाई कारण देखाउँदै परीक्षा स्थगित गर्ने निर्णय गरियो त्यतिबेला नेपालमा कोरोनाको जोखिम त्यति धेरै बढेको थिएन ।अन्तर्राष्ट्रिय नाकाहरू सिल भैसकेका थिए । त्यसबेला नेपालमा सङ्क्रमण चीनबाट आएका एकजना विद्यार्थीमा देखिए बाहेक शून्य नै थियोे । तसर्थ एक हप्तामा सकिने परीक्षा स्वास्थ्य सावधानी अपनाउँदै गर्न नसकिने अवस्था थिएन । त्यसपछिको लगभग २ महिना पछि सम्म पनि नेपालमा सङ्क्रमण नदेखिएको अवस्थालाई दृष्टिगत गर्दा यस कुराको पुष्टि हुन्छ । एस इ इ परीक्षाकै कारण सङ्क्रमण फैलिन सक्थ्यो भन्ने कुराको कुनै आधार देखिँदैन । त्यसैले अन्तिम समयमा आएर परीक्षा स्थगित गर्ने त्यतिबेलाको निर्णय नै त्रुटिपूर्ण भएको देखिन्छ ।
३. परीक्षा खारेजी नै सम्पूर्ण समाधान हो ?
अहिले कोरोनाको सङ्क्रमणका कारण हरेक क्षेत्र तहसनहस बनेको अवस्था छ । एस इ इ मात्र होइन थुप्रै पूर्वनिर्धारित परीक्षा थाती छन् । नीतिगत व्यवस्थाका आधारमा हुँदै आएको एस इ इ सरकारको एउटा निर्णयले क्षणभरमा खारेज भयो । एउटा सेमेस्टरको परीक्षा नै नगरी अर्को सेमेस्टर सुरु गर्ने निर्देशन भैसक्यो । परीक्षा खारेज हुँदैमा कोरोना सकिइहाल्छ भन्ने पनि छैन । यसले गलत नजिर र परम्पराको थालनी गरेको छ । ११ को परीक्षाको त चर्चा नै हुन छाड्यो । सो परीक्षा पनि खारेज हुने निश्चित प्रायः छ । कक्षा १२ को परीक्षा हुन्छ भनिँदै छ । त्यसो हो भने १२ को परीक्षा गर्न सक्दा १० को चैं किन गर्न नसकिने भन्ने कुरामा कुनै तर्क छ र रु के १० को परीक्षालाई मात्र कोरोनाको जोखिम हो र रु यो सङ्क्रमण तत्काल नियन्त्रण हुने कुनै छाँटकाँट देखिएको पनि छैन । त्यसो हो भने कोरोना सङ्क्रमण बढ्दै जाँदा परीक्षा खारेज गर्दै जाने त रु यसैलाई आधार बनाउँदै केही दिनपछि १२ को परीक्षा खारेजीको कुरा उठ्न सक्छ । त्यसपछि स्नातक, स्नातकोत्तर , प्राविधिक आदि विभिन्न परीक्षाको कुरा उठ्न नसक्ला भन्न सकिन्न । के आन्तरिक मूल्याङ्कन नै समस्याको समाधान हो र रु कुन कुन परीक्षाको आन्तरिक मूल्याङ्कनका आधारमा प्रमाणपत्र थमाउँदै जाने रु कोरोनाको बहानामा नीतिगत व्यवस्था भएका महत्त्वपूर्ण र दूरगामी असर पर्ने खालका परीक्षा खारेज गर्दै जाने हो भने यही रूपमा वर्ष नबित्ला भन्न सकिन्न । यो शृङ्खला अन्त्यहीन हुन सक्छ । त्यसैले जे जस्तो हुन्थ्यो, कर्मकाण्डी नै सही परीक्षा केन्द्रमा थन्किएर बसेका परीक्षा सामग्रीको उपयोग गरेर परीक्षा गर्नु नै उपयुुक्त हुन्थ्यो । जे भएको छ गलत परम्परा र नजिर बसेको छ । यसले समस्याको समाधान गर्दैन । त्यसैले समयमै भरपर्दो वैज्ञानिक र विश्वसनीय वैकल्पिक उपायको खोजी गर्नु जरुरी देखिन्छ ।

शिक्षक: श्री चन्द्रावती मावि बेलघारी तीनपाटन, सिन्धुली ।
(jkoirala33@gmail.com)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *